प्रधानमन्त्रीमा गगन थापाको दावी हतारो मनस्थितिको उपज : सहमहामन्त्री राठौर

बाँके, १२ मंसिर, २०७९ ।


नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दावी गर्नु अप्राकृतिक हुने बताएका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्तागठबन्धन दल वीच छलफल नै नगरि प्रधानमन्त्रीको दावी गर्दै हिड्नु असान्दर्भिक हुने बताए ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वय जस्तै पनि पनि यूवा हुँ । अझ उहाँहरुभन्दा म सिनियर पनि हुँ । निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्रीको दावी गर्दै हिड्नु सुहाउँदैन । यो सरासर गलत छ । यो हतारो मनस्थितिको उपज हो ।’
उनले यूवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनु पर्ने धारणा राखे । पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दावी गर्ने कार्य अनुशासन भित्र नपर्ने उनको भनाई छ । ‘महामन्त्रीद्वय थापा र शर्मा जीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ । पहिले उहाँहरुले पार्टीलाई राम्रो बनाएर देखाउनु पर्यो । अनिमात्र हामीले उहाँहरुलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उनले भने, ‘सिनियरलाई पाखा लगाएर जुनियरले दावी गर्न सुहाउँदैन । प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दावी गर्ने पक्षमा म छैन । उहाँहरुले दावी गरे पनि पछि हट्ने कुरा आउँदैन ।’
सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए । उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दावी गरे । ‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बेला हो । संविधानको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने ।
उनले सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए । एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दावी छ ।
नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पारे । ‘काठ्माडौँमा घर, घडेरी र गाडी किन्नका लागि राजनीति गरेका होइन । राष्ट्र र राष्ट्रियताका लागि राजनीतिमा होमिएको हुँ,’ उनले भने ।

Previous articleबाँकेमा एमाले पहिलो पार्टी बन्दा अन्य दलको अवस्था कस्तो छ ? (तथ्यांक सहित)
Next articleकार्यसमिति चयन गर्न विद्युतिय भोटिङ मेसिन प्रयोग गर्दै अपांग महासंघ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here