नेपालगन्ज म्याराथनको पुरस्कार सार्वजनिक : प्रथमलाई एक लाख ५० हजार

बाँके, २ मंसिर, २०७९ ।


नेपालगन्ज म्याराथनको पुरस्कार बृद्धि गरिएको छ । क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले ‘नेपालगन्ज म्याराथन’ को पुरस्कार राशीमा बृद्धि गरिएको बताए ।
उनले म्याराथनमा प्रथम हुनेले एक लाख ५० हजार रुपैँया नगद पुरस्कार, मेडल र ट्रफी पाउने बताए । प्रतियोगितामा दोस्रो हुनेलाई ६० हजार र तेस्रो हुनेलाई ३० र चौथोलाई १५ हजार रुपैँया प्रदान गरिने जानकारी दिए ।
सातौँ नेपालगन्ज म्याराथनमा पहिलो हुनेलाई एक लाख १० हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई २० हजार रुपैँया पुरस्कार दिएको उनले बताए । यसैगरी, महिला हाफ म्याराथनमा पहिलो हुनेलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार र चौथोलाई १० हजार रुपैँया नगद, ट्रफी र मेडलको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पुरुष १० किलोमिटर खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५, तेस्रोलाई १० हजार तथा महिला ५ किलोमिटर खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई सात हजार रुपैँया पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए ।
त्यस्तै, विद्यालय स्तरिय पाँच किलोमिटर छात्र दौडतर्फ प्रथम हुनेलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार एवम् तीन किलोमिटर छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैँया पुरस्कारको ब्यवस्था गरिएको छ । ‘ह्वीलचियर तर्फ शीर्ष तीन जनालाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैँया पुरस्कार प्रदान गरिने छ,’ उनले भने ।
नेपालगन्ज म्याराथनले कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराउने घोषणा गरेको छ । ‘उक्त प्रतियोगिताका विजेतालाई हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको ब्यवस्था गरिने छ,’ अध्यक्ष ठकुरीले भने ।
पुरस्कार घोषणा कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालगन्ज म्याराथनले नेपालगन्जको मात्र नभई सिंगो नेपाललाई जिनाउने धारणा राखे । उनले नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताउँदै उपमहानगरले बार्षिक क्यालेण्डरमा समावेश गर्ने प्रतिवद्धता जनाए । ‘यो प्रतियोगिताले सिंगो नेपालको नाम विश्वमा चिनाउन मद्दत गर्ने विश्वास छ,’ उनले भने, ‘उपमहानगर आर्थिक एवम् भौतिक सहयोग गर्न तयार छ ।’
केएल दुगड ग्रुपका निर्देशक कुमुद दुगडले ‘मुटु चाहिन्छ मुटु’ भन्ने धारा तेलको स्लोगनलाई साकार पार्न नेपालगन्ज म्याराथनलाई आर्थिक सहयोग गरेको बताए । ‘मुटुलाई बलियो बनाउन म्याराथन चाहिन्छ, मुटुलाई धारा तेल चाहिन्छ । यसैले हामी यसमा जोडिन पुग्यौँ,’ उनले भने ।
नेपालगन्ज म्याराथनका संस्थापक सदस्य सञ्जय सिंहको अध्यक्षतामा भएको कार्यक्रममा म्याराथनका ब्यवस्थापक सौगात विक्रम शाहले अहिलेसम्म विदेशी १२ जना धावकले नाम दर्ता गराएको जानकारी दिए । उनले प्रतियोगितामा भाग लिन अल्जेरिया, इथोपिया, पाकिस्तान, बंगलादेश लगायत देसका धावकले नाम दर्ता गराइसकेको बताए ।

Previous articleम तपाईँहरुको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहन्छु : उम्मेदवार निरक गुरुङ
Next articleबाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here