बाँके, १ मंसिर, २०७९ ।
नेपालगन्ज नाका आज मध्यरातदेखि बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको सुरक्षाका लागि नेपालगन्ज नाका ७२ घण्टाका लागि बन्द हुन लागेको हो ।
२ मंसिर मध्यरात १२ बजेदेखि ४ मंसिर साँझसम्म नेपालगन्ज नाका पूर्ण रुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले बताए । उनले अति आवश्यक काम बाहेक अन्य कामका लागि नाका भएर आवतजावत गर्न निषेध गरिएको बताए । ‘एम्वुलेन्स र विरामी वोकेका सवारी साधन बाहेक अन्य सर्वसाधारणलाई आउजाउ गर्न निषेध गरिएको छ,’ उनले भने, ‘भारतबाट आउने क्रममा रुपइडिहामा अलपत्र परेका यात्रुलाई सुरक्षाकर्मीको सहयोगमा नेपालगन्जसम्म ल्याइने छ,’ उनले भने ।
यसैवीच, विहीवार मध्यरातबाट मौन अवधि सुरु हुने छ । विहीवार मध्यरातदेखि मतदान नसकिदासम्म मौन अवधि कायम रहने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइने छैन । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, फेसबुक, यूटुव लगायत सामाजिक संजालमार्फत समेत चुनावी गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।