बाँके, ३० कात्तिक, २०७९ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले ४ मंसिरमा एकदमै विकेक पु¥याएर मतदान गर्न अपिल गरेका छन् । उनले ४ मंसिरमा विवेक नपुर्याए पाँच वर्षसम्म पछुताउनु पर्ने अवस्था आउने बताउँदै ऐतिहासिक क्षण अब नजिक आइसकेको बताए ।
डुडुवामा बुधवार भएको पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले भने, ‘यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारको रक्षा गर्ने र उक्त अधिकार खोस्न चाहने बीचको लडाइँ हो । विवेक नपुर्याए पाँच वर्षसम्म पछुताउनुको विकल्प रहदैन । विवेक पुर्याएर मतदान गर्न म अपिल गर्दछु ।’
मधेस आन्दोलनले राज्यका हरेक संचरनामा मधेसीको सहभागितालाई सुनिश्चित गरेको बताउँदै उनले मधेस आन्दोलनले स्थापित गरेको अधिकार प्राप्तिका लागि मतदान गर्न आह्वान गरे । संविधानले हामीलाई स्विकार गरेको छ । हाम्रा धोती अनि कुर्तालाई राज्यले पहिचान दिएको छ । हाम्रो भाषालाई राज्यले सम्मान गरेको छ,’ मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले आफ्नो पहिचान र अधिकारका लागि रगत पसिना बगाएका छौँ । यो कसले जित्ने भन्नेमात्रै चुनाव होइन । यो त ती अधिकार जोगाउने कि फेरि त्यसलाई कसैको मुठ्ठीमा सुम्पिने ? त्यसको फैसला पनि हो ।’
उनले पुरानै शासन व्यवस्थाको वकालत गर्नेहरू फेरि पनि नागरिकलाई रैति बनाउनका लागि भोट मागिरहेको भन्दै त्यसको गतिलो जवाफ ४ मंसिरमा ब्यालेट मार्फत दिन मतदातासँग आग्रह गरे ।
यो क्षेत्रको विकास नचाहनेहरूले आफूविरूद्ध भ्रामक कुराहरू फैलाइरहेको भन्दै उम्मेदवार राईले कसैको झुटा र जनता ढाँट्ने कुराहरूको पछाडि नलाग्न पनि मतदातालाई सचेत गराए । ‘यो क्षेत्रको विकास होवस् । यो क्षेत्रका नागरिक समृद्ध होउन् । उनीहरू त चाहन्छन् जनता सधैं उही गरिबीमा रहिरहून् । सधैं उनीहरूका रैति भइरहून्,’ उनले भने, ‘विकास गरिरहेको मान्छेका बारेमा नानाथरि कुरा गरेर उनीहरूले अहिले मतदाता भड्काउने काम गरिरहेका छन् ।’
राईले भ्रष्टाचार कसले गरेको छ र विकास कसले गरेको छ भनेर आफु सधैं बहस गर्न तयार रहेको पनि सुनाए । ‘उनीहरू पनि यो क्षेत्रको उच्चस्थानमा बसेका छन् । दश–दश वर्ष महानगर चलाएका छन् । उनीहरूले किन विकास गरेनन् ? आज काम गरिरहेको मान्छे देखेर उनीहरूलाई औडाह भइरहेको छ । र, उनीहरू छट्पटाइरहेका छन् । जनता सचेत भएको देखेर उनीहरू डराइरहेका छन्,’ उनले भने, ‘त्यसैले उनीहरू पछि लागिरहेका छन् । मैले कसरी पैँसा कमाए भनेर प्रमाणहरू खोज्न हिँडेका छन् । दुःख गरिरहेका छन् । तर त्यत्रो दुःख किन गर्नुप¥यो ? त्यो सबै त मैले सार्वजनिक गरिसकेको छु । नभए कसैले मलाई सोधे पनि म भनिदिन्छु नि !’
आफ्नो पुस्ताले समेत गर्व गर्नेगरि विकास ल्याउनका लागि नागरिकले जसपाप्रति अगाध स्नेह र उत्साह देखाइरहेको भन्दै विरोधीहरू अत्तालिएको बताए । राईले मतदाताहरूलाई ४ मंसिरमा विवेकपूर्ण मतदान गर्न आग्रह गरे ।
कोणसभालाई प्रदेशसभा उम्मेदवार भण्डारीलाल यादव, समानपातिक उम्मेदवार अम्बिका काफ्ले, जसपाका जिल्लाअध्यक्ष कमरुद्दीन राईलगायतले सम्बोधन गरेका थिए ।