बाँके, ३० कात्तिक, २०७९ ।
नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरकी निर्मला कुर्मी बेपत्ता घटनामा मुछिएका बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (ख) का उम्मेदवार बादशाह कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ । निर्मला कुर्मी बेपत्ता सम्बन्धनमा छानविन गर्न गठन भएको समितिले पनि बादशाहलाई कारवाहीको सिफारिस गरेको भन्दै उनी विरुद्ध महिला अधिकार मञ्चले उजुरी दिएको हो ।
निर्मला बेपत्ता घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको र गृह मन्त्रालयले गरेको छानबिनले समेत दोषी ठहरिएको हुँदा बादशाहको उम्मेदवारी खारेज गरिनुपर्ने उजुरीमा उल्लेख छ । ‘सरकारले गठन गरेको छानबिन समितिले समेत बादशाहलाई निर्मलाको मुद्दामा दोषी ठहर गरेको र उक्त मुद्दाको हालसम्म न्यायिक निकास नभएकोले मुख्य अभियुक्त रहेका बादशाह कुर्मी बाँके क्षेत्र नं.३ (ख) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार रहेको हुँदा कारबाही गरी नामांकन खारेज गरिदिनुहुन अनुरोध गरिन्छ,’ उजुरीमा भनिएको छ ।
कांग्रेसका जिल्ला नेता बादशाह सत्तागठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । निर्मला ०६६ मा एकाएक बेपत्ता भएकी थिइन् । त्यसयता उनी कसैको सम्पर्कमा आएकी छैनन् । परिवारका सदस्य उनको अपहरणपछि हत्या भएको बताउँछन् । हत्यामा उनै बादशाह संलग्न रहेको उनीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरीसमेत दिएका छन्, तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
विरोधमा नेपालगन्जकी सामाजिक अभियन्ता रुबी खानसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा १९ दिन धर्ना दिएका थिए । बादशाह पक्राउ नपरेपछि उनीहरू २० दिन पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका थिए । निरन्तरको धर्नापछि घटनाको छानबिन गर्न सरकार २ कात्तिक, ०७८ मा घटनाको छानबिन गर्न सहमत भएको थियो ।
गृहका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिले घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, घटनाको छानबिन गर्न सरकारले आलटाल गरेपछि सामाजिक अभियन्ता रुबी खानसहितको महिला टोलीले माइतीघर मण्डलामा पुनः दोस्रो चरणको धर्ना सुरु गरेका थिए । करिब ४० दिनको धर्नापछि घटनाको छानबिन सिआइबीबाट गराउन सरकार तयार भएको थियो । बादशाहलाई मतदान नगर्न आह्वान गर्दै रुवीले यसअघि नेपालगन्जमा पत्रकार सम्मेलन समेत गरेकी थिइन् ।

