कोठामा बम बनाउँदै गर्दा विस्फोट, घाइते दुई मध्ये एकको अवस्था गम्भिर

बाँके, ३० कात्तिक, २०७९ ।


नेपालगन्जको एक घरमा बम विस्फोट हुँदा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगर, जिल्ला स्वास्थ्य कार्यालय स्थित विभाकर विक्रम मल्लको घरमा डेरा गरि वस्ने बाघचौर नगरपालिका २, सल्यानका २७ वर्षिय डिल्लीबहादुर डिसीको कोठामा बम विस्फोट भएको हो ।
वम विस्फोट हुँदा डिसीसँगै घोडाघोडी नगरपालिका १, कैलालीका ३३ बर्षिय धनबहादुर सुनार घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
डिसी र सुनारले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई लक्षित गरि डेरामा बम भण्डारण गरेको अनुसन्धानबाट खुलेको उनले बताए । उनीहरु नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको डिएसपी घर्तीमगरले बताए ।
घाइते मध्ये सुनारको अवस्था चिन्ताजनक छ । उनको मुख जलेको छ भने खुट्टा र हातमा गहिरो चोट लागेको छ । आफू पनि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको र साथीको डेरामा आएको बेला बम विस्फोट भएको घाइते सुनारले प्रहरी समक्ष बयान दिएका छन् ।
नेपालगन्जमा बम बनाउने र अन्य जिल्लामा पठाउने योजनाका साथ बम बनाउने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ । ‘उनीहरु पहिलेदेखि नै बम बनाउँदै आएका रहेछन् । बुधवार बेलुका बम बनाउँदै गर्दा मिस्टेक भएर विस्फोट हुन गएछ,’ डिएसपी घर्तीले भने ।
घाइते दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । दुई मध्ये सुनारको अवस्था गम्भिर रहेको शिक्षण अस्पतालका निर्देशक डा. रोमन किदवाईले जानकारी दिए ।

Previous articleहाम्रा पुस्ताले गर्व गर्ने विकासका योजना ल्याउँछु : इश्तियाक राई
Next articleउम्मेदवारको प्राथमिकतामा परेन द्वन्द्व पीडितको मुद्धा : मतदान नगर्ने चेनावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here