जनताको हुकुममा चल्ने उम्मेदवार ‘हुकुम’ को हुन् ?

बाँके, २९ असोज, २०७९ ।


उनको कद अग्लो छ । अग्लो बाँस निहुरिए जस्तै अग्लो कद भएका उनी पनि जनता सामु निहुरिन्छन् । नरम बोली र आदरपूर्ण ब्यवहार गर्छन् । उनी झुठा कुरा कहिलै बोल्दैनन् । न त झुठा आश्वासन दिएर जनतालाई झुक्याउँछन् । जनताको हरेक सुखदुखमा साथ दिने उनी सानैदेखि राजनीतिमा होमिए । निष्ठाको राजनीति गर्ने उनी हुन् दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) का उम्मेदवार हुकुम बस्नेत ।
इमान्दार छवी, जनप्रिय, कर्मठ नेताको परिचय बनाएका उनी समाज बदल्ने सपना बोकेर राजनीतिमाा होमिएका उनी निस्वार्थभावले राजनीति गर्ने एक अथक योद्धा हुन् । समाज रुपान्तरणको यात्रामा लागेर जीवनको उर्जाशिल समय विताएका बस्नेतले अहिलेसम्म लाभको पद लिएका छैनन् । ‘राजनीतिमा लागेको लामो समय भयो, तर लाभको पद लिने आशा मेरो मनमा कहिलै जागेन,’ उनले भने ।
उनी पार्टीले खटाएको जुनसुकै मोर्चामा लाग्न तयार हुन्छन् । सहजका बेला मात्र नभई पार्टीलाई अपठेरो परेका बेला पनि उनी काँध थाप्छन् र पार्टीलाई अग्रपंतीमा उभ्याउँँछन् ।
हेपियका, दबाइएका अनि समाजले पछाडि पारिएकाहरुको मुक्ति नै उनले आफ्नो जीवनको मुल बाटो बनाएका छन् । पञ्चायती शासनका विरुद्ध २०३६ सालमा भएको आन्दोलनका क्रममा बुवा खुसबहादुर बस्नेतलाई राजकाज मुद्धा लाग्दा उनी १४ बर्षका थिए । बुवा समेत सहभागी भएको पञ्चायत विरोधी आन्दोलनले उनलाई राजनीतिमा लाग्ने प्रेरणा मिल्यो । पञ्चायति व्यवस्था विरुद्ध सुरु भएको आन्दोलनमा उनी पनि सहभागी भए ।
यूवा अवस्थामा उनलाई मोजमस्ती गर्ने, विभिन्न ठाउँ घुमेर रमाइलो गर्ने, मिठो खाने रहर नजागेको होइन । तर, उनको जीवनमा यस्ता बस्तुले प्राथमिकता पाएनन् । उनले आफ्ना इच्छालाई मारेर जनताको सेवामा जवानी खर्चिए । जनताको सेवा उनको राजनीतिक यात्राको अग्रपंक्तिमा आएपछि उनी यश, आरामलाई विर्सिए ।
जनता र समाजका लागि वामपन्थी राजनीति सुरु गर्दा उनले अनेकौँ थरिका हन्डर खाए । तर, उनले हिम्मत हारेनन् । दंगाली कम्युनिष्ट आन्दोलनका शिखर नेता स्व. नेत्रलाल अभागी र शोभाराम बस्नेतसंगको सामिप्यताले उनलाई थप राजनीतिप्रति दृढ बनाउँदै लग्यो । नेताहरुले दिने राजनीतिक प्रवचनले उनमा गहिरोसँग प्रभाव पार्दै लग्यो । ‘बुवासँगै घरमा नेताको निरन्तर आउजाउ हुन्थ्यो । घरमा रातभर राजनीतिक विषयमा छलफल र बहस हुन्थ्यो,’ उनले भने, ‘नेताहरुको कुरा सुन्दासुन्दै राजनीतिमा लाग्ने प्रेरणा मिल्यो ।’
घरमै राजनीतिक वातावरण पाएका उनी साविक उरहरी गाविसस्थित अमर मावि उरहरीमा अध्ययन गर्दैगर्दा उनी अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य भए । त्यसपछि उनको राजनीतिक यात्रा संस्थागत भयो । काँग्रेसको जगजगी भएका बेला समेत उनी बामपन्थी आन्दोलनलाई काँध थापे र एक वर्ष नवित्दै अनेरास्ववियु प्रारम्भिक कमिटीको कोषाध्यक्ष बने ।
राजनीतीलाई अगाडी बढाउने क्रममा उनी ०५३ सालदेखि युवा संघ नेपालको इलाका सदस्य भए । माओवादी आन्दोलनको सुरुवात भएको समयमा युवा संघमा लागेर काम गर्न आफैमा निकै समस्या थियो । तर, उनले चुनौतिलाई सामना गरिरहे ।
राजनीतिमा इमान्दारीताको छवी बनाएको बस्नतेले २०५४ सालमा युवा संघ नेपालको जिल्ला सदस्य हँुदै ०५६ मा सोही संगठनको जिल्ला अध्यक्ष भएर नेतृत्व लिए । संगठनलाई निकै अप्ठेरो परेको समयमा उनले आफुलाई दृढ भएर अगाडी बढाए । पार्टीका विभिन्न मोर्चामा सहभागी भएर सक्रिय राजनीति जीवनमा आएका बस्नेतले ०४६ सालमा नेकपा एमाले उरहरीको वडा कमिटी सदस्य भएर काम गरे ।
०३६ सालदेखि भातृ संगठनमा आबद्ध भएर काम गरिरहेका बस्नेतले ०५२ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेर पूर्णकालिन कार्यकर्ताका रुपमा राजनीतिमा होमिएका थिए । पार्टीप्रतिको वफादारिता, त्याग र क्षमताका कारण ०५८ सालमा उनले जिल्ला सदस्यका रुपमा जिम्मेवारी पाए । अवचलित ढंगले पार्टीमा लागेका बस्नेतले राजनीतिप्रतिको आफ्नो लगावमा कुनै पनि कमी आउन दिएका छैनन् ।
०५८ देखि पार्टीको संगठन बिभाग प्रमुख, कार्यालयको सचिब, जिल्ला सचिब, उपाध्यक्ष हुँदै हाल जिल्ला अध्यक्षको भूमिकामा छन् उनी । पार्टीलाई संकट परेको बेला शतिसाल जस्तै उभिएका उनी नीति, निर्माण तहमा पुगेर सर्वहारा वर्गको हितमा कानून बनाउन र विकासका योजना ल्याउने लक्ष्यका साथ चुनावी मैदानमा छन् ।
आफुसँगैका साथीहरु लाभको पदमा पुगे पनि उनी पार्टीको काममा आफुलाई लगाइरहे । एमालेलाई जिल्लामा पहिलो पार्टीको रुपमा स्थापित गर्नमा उनको योगदान अतुलनिय छ ।
पार्टीको काम सँगै उनी ०५१ सालमा जिल्ला खेलकुद विकास समितिको सदस्य भए । उनको कामको कदर गर्दै पार्टीले उनलाई ०६३ सालमा खेलकुद विकास समितिको अध्यक्षमा सिफारिस गरेको थियो । उनकै कार्यकालमा जिल्ला खेलकुद विकास समिति बेलझुण्डीस्थित आफ्नै भवनमा सरेको थियो । दाङ्गमा खेलकुदको संरचना निर्माण गर्न र खेलकुदको विकास गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ । उनकै पहलमा बेलझुण्डीमा सेन्थेटिक ट्रयाकसहितको खेलमैदान निर्माण भएको छ ।
राजनीतिमा थकान शब्दको अर्थ हुँदैन भने जस्तै बस्नेत नथाकेर आफ्नो राजनीतिक यात्रालाई निरन्तर अगाडी बढारहेका छन् । उनले यसअघिका निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य र प्रदेससभा सदस्यको उम्मेदवारमा दावी गरेका थिए । तर, आफूभन्दा अग्रजलाई पालो दिनुपर्छ भन्दै उनले पाएको टिकट पनि अरुलाई दिए ।
उनी जनताको साथ र सहयोग पाए सेवकको रुपमा काम गर्ने अठोट लिएका छन् । ‘म प्रदेससभा सदस्यमा विजयी भए भने पनि प्रशासक नभई सेवक भएर जनताको घर आँगनमा आउने छु,’ उनले भने ।

Previous articleमत बदर कम गर्न नरैनापुरमा मतदाता शिक्षामा जोड्
Next articleबादशाहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here