बाँके, २७ असोज, २०७९ ।
प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का एमाले–राप्रपा गठबन्धका उम्मेदवार डा. धवलशमशेर राणाले कृषि क्षेत्रको विकासका लागि नेपालगन्जमा रासायनिक मल कारखाना स्थापना गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । समयमा रासायनिक मल नपाउँदा कृषि क्षेत्र प्रभावित भएको बताउँदै उनले किसानलाई पर्याप्त र सर्वसुलभ रुपमा रासायनिक मल प्रदान गर्न नेपालगन्जमा रासायनिक मल कारखाना स्थापना गर्न आफूले पहिलो एजेन्डा बनाएको बताएका छन् । ‘रोपाइँको समयमा किसानलाई पर्याप्त र सर्वसुलभ रुपमा रासायनिक मल प्रदान गर्न मैले यहाँ रासायनिक मल उद्योग संचालनमा ल्याउने योजना बनाएको छु,’ उनले भने ।
उनले रासायनिक मल कारखाना स्थापना गरि भारतसँगको परनिर्भरता अन्त्य गरिने बताए । भारतबाट रासायनिक मल ल्याउने बेला किसानले अनेकौँ थरिका सास्ती खेप्न परेको बताउँदै उनले भारतमा उत्पादन भएका रासायनिक मल गुणस्तरिय नभएको बताए । ‘किसानलाई सर्वसुलभ रुपमा रासायनिक मल प्रदान गर्ने मात्र होइन, गुणस्तरिय पनि दिने मेरो योजना छ,’ उनले भने ।
उनले क्षेत्र नं. २ लाई समृद्ध र यहाँका बासिन्दालाई सुखि बनाउने योजना अघि सारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहेका डा. राणाले नेपालगन्जलाई मानसरोवर जाने भारतीय पर्यटकको गन्तब्यको रुपमा विकास गर्ने प्रतिवद्धता गरेका छन् । ‘नेपालगन्जलाई सुन्दर र सभ्य सहरको रुपमा विकास गरि यहाँका नागरिकलाई सुखि र समृद्ध बनाउने मेरो परिकल्पना छ,’ उनले भने ।
नेपालगन्जलाई ‘प्राविधिक शिक्षाको हव’ बनाई आर्थिक उपार्जनमा टेवा पुर्याउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । उनले प्राविधिक शिक्षा आर्जन गर्न बाहिर जिल्ला र सहर जाने बाध्यताको अन्त्य गरि बाहिरका विद्यार्थीलाई समेत आकर्षण गर्न विशेष कार्यक्रम ल्याउने बताए । ‘देस र विदेसबाट प्राविधिक शिक्षा लिन आउने वातावरण बनाउन मैले विशेष खाका तयार गरेको छु,’ डा. राणाले भने ।