राप्ती नदी पीडित मतदाता : समस्या समाधान गर्न सक्ने नयाँ उम्मेदवार खोज्दै

बाँके, २५ कात्तिक, २०७९ ।


बाँके निर्वाचन क्षेत्र नं. १ अन्तरगत राप्ती नदी आसपासका नागरिकले बाढी पीडितको समस्या समाधान गर्न सक्नेलाई मतदान गर्ने बताएका छन् । जनताबाट अनुमोदित पुराना सांसद र जनप्रतिनिधिले राप्ती नदी पीडितको समस्या समाधान तर्फ ध्यान नदिएपछि त्यहाँका मतदाताले समस्या बुझ्न सक्ने नयाँ अनुहारको खोजीमा रहेको राप्तीसोनारी गाउँपालिका २ मदुईका जेष्ठ नागरिक रामचरण चौधरीले बताए ।
उनले हरेक पटकको निर्वाचनमा उम्मेदवारले राप्ती नदी समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेर गएपछि फर्केर नआउने गरेको गुनासो गरे । ‘चुनावको बेला नेताहरु घर आँगनमा आउँछन् । जितेर गएपछि राप्ती नदी समस्या समाधान गर्न योजना ल्याउने परको कुरा अनुहारसमेत देखाउँदैनन्,’ उनले भने, ‘पूरानाले जनताको भावनाको कदर नगरेकोले अव समस्या समाधान गर्ने नयाँ अनुहार चयन गर्ने पक्षमा छौँ ।’
राप्तीसोनारी गाउँपालिका ७ का दुर्गाप्रसाद पाण्डेले पनि राप्ती नदी समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा रहेको बताए । उनले राप्ती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा वर्सेनी क्षति पुर्याउने गरेकोले समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पारे । ‘समस्या समाधान गर्ने बाचाकसम खाएका कसैले पनि समस्या समाधानतर्फ अग्रसरता देखाएनन् । अव हाम्रो पीडा बुझ्ने उम्मेदवारलाई भोट दिन्छौ,’ पाण्डेले भने ।


उनले राप्ती नदीले क्षति पुर्याएका सर्वसाधारणले क्षतिपूर्तीसमेत नपाएको बताउँदै उचित बसोबासको माग समेत गरे । राप्तीपीडित फत्तेपुरबासी सामुदायिक वनको खाली जमिनमा आश्रय लिएर बसेको उनले गुनासो गरे । ‘नदी नियन्त्रणका लागि योजना बनाउने र पीडितलाई बसोवासको ब्यवस्था गर्ने उम्मेदवार अहिलेको आवश्यकता हो,’ उनले भने ।
राप्ती नदीले आसपासका हजारौँ विघा जमिन बगरमा परिणत गर्नुका साथै सयौँ परिवार विस्थापित भएका छन् । ‘हाम्रो माग सम्बोधन गर्लान भनेर भोट दियौँ, तर सधैँ वेवास्ता गरे । अव हाम्रो ब्यवथा बुझ्ने उम्मेदवारलाई जिताउने छौँ,’ पाण्डेले भने ।
यो क्षेत्रमा एमालेका सूर्य ढकाल, माओवादी केन्द्रका महेश्वरजंग गहतराज, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी, जनता समाजवादी पार्टीका रामकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरी लगायत उम्मेदवार छन् । यी मध्ये एमालेका ढकाल, उन्मुक्ति पार्टीका चौधरी, जसपाका यादव, लोसपाका चौधरी पहिलो पटक चुनाव लड्दैछन् ।
माओवादी केन्द्रका गहतराज यसअघि यहि क्षेत्रबाट निर्वाचित भई अहिले यूवा तथा खेलकुद मन्त्री छन् । गहतराजलाई ढकालको पार्टी एमालेले अघिल्लो निर्वाचनमा सहयोग गरेका थियो ।

Previous article‘सादगी नेता’ निरक गुरुङ : मतदाताको सहानुभूतीले हर्षित (किन भए उनी हर्षित ?)
Next articleनेपालगन्जमा रासायनिक मल कारखाना खोल्ने डा. धवलको उद्घोष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here