प्रचारमा उम्मेदवार वीरबहादुर ओली : साइकलमा सररर…, जनताको मन हररर…

बाँके, २४ कात्तिक, २०७९ ।


वीरबहादुर ओली प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ का उम्मेदवार हुन् । उनी तामझाम विना प्रचारप्रसार गरिरहेका छन् । साइकलमा मतदाताको घर घर पुग्ने उनीसँग साइकल बाहेक अरु सवारी साधन छैन । अन्य दलका उम्मेदवारहरु तामझामका साथ प्रचारप्रसार गरिरहँदा उनी मतदातामाझ एक्लै पुग्छन् । न उनी तामझाम देखाउन चाहन्छन् न त प्रदर्शन नै गर्ने इच्छा राख्छन् । ‘चाहेको भए मैले पनि सवारी साधन र नेता, कार्यकर्ता पछाडी लगाउन सक्थेँ,’ उनले भने, ‘तामझाम गर्दैमा चुनाव जितिदैन । सर्वहारा वर्गको नेतृत्व गर्ने कम्यूनिष्ट पार्टीका उम्मेदवारले त झन तामझाम र फजुल खर्च गर्नै भएन ।’
उनलाई अहिलेको चुनावको प्रचार शैली पटक्कै मन परेको छैन । चुनाव जित्नका लागि मात्र लड्ने परम्परा गलत भएको उनी बताउँछन् । ‘लाखौँ रुपैँया खर्च गरेर चुनाव जित्नुको अर्थ छैन । चुनाव त जनताको मन जितेर जित्ने हो । डर, त्रास र भोट किनेर जितेको कुनै अर्थ रहदैन,’ उनले भने ।
नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सबादी पुष्पलाल) का पोलिटब्यूरो सदस्य समेत रहेका उनी सुकुम्बासी आन्दोलनबाट खारिएका पाका नेता हुन् । उनको बाँकेका सुकुम्वासी बस्तीमा राम्रो पकड छ । उनी सुकुम्वासीलाई जमिन दिलाएर जमिनको मालिक बनाए । घरवारविहिनको घरबार जोड्न सहयोग गरे । तर, उनले आफ्नो लागि केहि गरेनन् । ‘मेरो नाममा एक धुर जमिन छैन । म जिवनभर सुकुम्वासीको उत्थानका लागि लडेँ, तर आफ्नो लागि कहिलै सोँचेन,’ उनले भने ।
उनले सादगी नेताको रुपमा आफ्नो परिचयलाई बरकरार राखेका छन् । अहिलेको निर्वाचनमा पनि उनी आफ्नो लागि भन्दा जनताको हितका लागि उठेको बताउँछन् । ‘जिन्दगीभर अरुको हितका लागि गरेँ । जिवनको उत्तरार्धमा आफ्नो लागि गर्ने कुरै भएन,’ उनले भने, ‘अव त झन आफ्नो लागि सोच्ने कुरै भएन ।’
ओलीले नौबस्ता, चिसापानीको सुकुम्बासी बस्ती निर्माण गरे । खजुरा ३ स्थित ऐलानीको सुकुम्बासी बस्ती बसाले । गिजरामा सुकुबासीलाई बसालेर जमिन दिलाए । सर्वहारा सुकुम्बासीको निम्ति बासको ब्यवस्था मिलाउन सुकुम्वासी आन्दोलनको नेतृत्व गरेका उनी कयौं पटक जेल बसे ।
त्यहि वीरबहादुर ओली प्रतिनिधि सभा सदस्य निर्वाचनमा गैती चिन्ह लिएर चुनावी मैदानमा छन् । उनी त्यहि चिन्ह अंकित झण्डा साइकलमा बाँधेर मतदाताको घरदैलोमा पुग्छन् । र जनतालाई सर्वहारा सुकुम्वासीको उत्थानका कुरा सुनाउँछन् ।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका किशोर सिंह राठोर र एमालेबाट किस्मतकुमार कक्षपति उम्मेदवार चुनावी मैदानमा छन् । ह्वावी वेट नेताहरुको चुनावी अभियान भन्दा बिल्कुलै फरक तरिकाले साइकलमा प्रचारप्रसार गर्दै आएका ओलीले नेपालका प्रायजसो कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट नीति, बिचार र सिद्धान्तलाई आत्मसात नगरेको भन्दै फरक मत राखेर हालका कम्युनिष्ट पार्टीको आलोचना गर्दै आएका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर ३ मा पुनर्वास कम्पनीले स्थापना गरेको बस्ती बिकासको क्रममा बसोबास गरेर त्यहीँबाट राजनीति सुरु गरेका वीर बहादुर ओलीले हालको बैजनाथ गाउँपालिकामा पर्ने पितमारीको सुकुम्बासी बस्ती बसाउन नेतृत्व लिएका कारण यी दुई पालिका र सो क्षेत्रमा ओलीको राम्रो पकड मानिन्छ ।

Previous article‘अनटेष्टेड’ अनुहार खोज्दै बाँके क्षेत्र नं. १ का मतदाता
Next articleइस्तियाकको दश दृष्टि : नेपालगन्जलाई ‘मेडिकल हव’ बनाउने प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here