बाँके, २४ कात्तिक, २०७९ ।
जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई ‘मेडिकल हव’ को रुपमा विकास गर्ने योजना अघि सारेका छन् । उनले नेपालगन्ज लुम्विनी, कर्णाली, सुदूरपश्चिम प्रदेसका विरामीको उपचार गराउने ठाउँको रुपमा विकास गरिने बताए ।
उनले भेरी अस्पतालमा एमडी र एमएस अध्यापन लागि पहल गर्ने योजना पनि अघि सारेका छन् । ‘नसा, मुटु, फोक्सो लगायत दीर्घ र जटिल रोगका विरामीको उपचारका लागि भेरी अस्पतालमा विशेषज्ञ युनिटको ब्यवस्था मिलाइने छ,’ उनको ‘दश दृष्टि’ मा उल्लेख छ ।
जसपाका उम्मेदवार राईले क्षेत्र नं. २ का विभिन्न स्थानमा पाँच वर्षभित्र कम्तिमा पाँच वटा नमुना स्वास्थ्य संस्था स्थापना गर्ने योजना पनि बनाएका छन् । ‘स्वस्थ जीवन हरेक नागरिकको संवैधानिक हक हो र जनता समाजवादी पार्टी नेपाल हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा सजिलै र निशुल्क हुनुपर्दछ भन्ने मान्यता राख्दछ,’ उनको प्रतिज्ञा पत्रमा समेटिएको छ ।
उनले हरेक वर्ष एउटा नमुना सामुदायिक विद्यालय स्थापना गर्ने लक्ष्य लिएका छन् । ‘जीवनका लागि शिक्षा, समृद्धिका लागि शिक्षा’ स्मार्ट स्कुल, जीवनपयोगी शिक्षाका लागि पनि योजना बनाएका छन् । ‘गुणस्तरिय शिक्षाबाट कोही पनि बञ्चित हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट नीति छ,’ उनले भने ।
उनले नेपालगन्जको समस्याको रुपमा रहेको छाडा चौपाया ब्यवस्थापनका लागि मनिकापुरमा ब्यवसायिक गौशाला र बोटानिकल गार्डेन बनाउने प्रतिवद्धता जनाएका छन् । कृषि देशीय अर्थतन्त्रको ठूलो हिस्सा हो र त्यसका लागि समयमै सजिलै मल, विउ र उत्पादित बस्तुले उचित मूल्य पाउनु हरेक किसानको अधिकार भएको बताए । उनले क्षेत्र नं. २ मा पशु एम्बुलेन्स, दीगो सिँचाई आयोजना, स्मार्ट किसान, ब्यवसायिक कृषिको परिकल्पना गरेका छन् ।
राईले खेल र खेलाडीको बृत्ती विकासका लागि पनि परिकल्पना गरेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलसँगै स्थानीय स्तरमा खेलिने खेलको पुनर्जागरण गर्ने खेलको माध्यमबाट खेल पर्यटनको विसका गर्ने योजना आफ्नो ‘दश दृष्टि’ मा समेटेका छन् । हरेक वडामा खेल संरचना, नेपालगन्ज रंगशालाको ब्यवसायिक प्रवद्र्धन, ब्यवसायिक खेलाडी, सम्मानित खेल जीवनका लागि उनले योजना बनाएका छन् ।
यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए । बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटेका छन् ।
विभिन्न दश बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन् ।
पत्रकारहरूसँगको साक्षात्कारमा उनले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताए ।
‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उनले भने ‘काम गरिरहेको र गर्नसक्ने व्यक्तिलाई भोट दिनुस् भनेका छौं।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए ।
‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ । उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनुभएको छ । कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन् । मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु ।’