बाँके, २४ कात्तिक, २०७९ ।
बाँके क्षेत्र नं. १ का मतदाताले हरेकजसो प्रतिनिधिसभा निर्वाचनमा ‘अनटेष्टेड’ अनुहार रोज्ने गरेको अहिलेसम्मको निर्वाचन परिणामले देखाएको छ । प्रायजसो प्रतिनिधिसभा निर्वाचनका बेला गरेको बाचा पूरा नगरेका कारण सवक सिकाउन यहाँका मतदाताले नयाँ अनुहारलाई जिताउने गरेका हुन् ।
हरेक वर्ष राप्ती नदीमा आउने बाढीले विक्षिप्त भएका यस क्षेत्रका जनताले समस्या समाधान गर्न सक्ने नेताको खोजी गर्न थालेको ३५ वर्ष भइसकेको छ । ०४८ सालमा भएको आमनिर्वाचनदेखि नै नेता र उम्मेदवारबाट आश्वासन पाएका यहाँका बासिन्दाको माग कुनै सांसदले सम्बोधन नगरेपछि फेरि नयाँ अनुहारको खोजी गरेको राप्तीसोनारी गाउँपालिका ३ का एक मतदाताले बताए ।
उनले यसपालीको निर्वाचनमा पनि यस क्षेत्रका मतदाताले नयाँ अनुहार रोज्ने स्पष्ट पारे । ‘परीक्षण भइसकेका उम्मेदवारबाट आशा गर्ने ठाउँ रहेन । यसपाली नयाँ अनुहारको परीक्षण गर्ने निर्णयमा पुगेका छौँ,’ ति मतदाताले भने, ‘ति उम्मेदवारले पनि केहि नगरे फेरि सोच्न बाध्य हुने छौँ ।’
विगतमा चुनाव जितेका नेताहरु चुनावी प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको उनको भनाई छ । ‘यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिन्छ । नागरिकले व्यक्ति मात्रै होइन, पटक–पटक पार्टीसमेत नयाँ र फरक रोजेको देखिन्छ,’ नागरिक अगुवा डिलबहादुर परियारले भने ।
नरैनापुर गाउँपालिकाका मतदाताले पनि नयाँ अनुहार खोजेको नरैनापुर गाउँपालिका ६ का कृपाराम यादवले बताए । उनले विगतका सांसदले जनताको चाहना पूरा गर्न नसकेका कारण नयाँ अनुहारको खोजी गरेको बताए । ‘जितेर गएपछि फर्केर नआउने, जनताको कामभन्दा नातावाद र कृपावादको पछाडी लाग्ने गरेकोले पूराना जनप्रतिनिधिको विश्वास गुमेको हुनुपर्छ,’ उनले भने, ‘पूरानाले अपेक्षा अनुसारको भूमिका खेल्न नसकेकोले नयाँ विकल्प खोज्न बाध्य भयौँ ।’
बाँके क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेश्वरजङ्ग गहतराज र नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकाल बीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गहतराज दोस्रो पटक यस क्षेत्रमा प्रतिष्पर्धा गर्दै छन् । एमालेका युवा नेता ढकालले पहिलो पटक जनताको माझ मत थाप्र्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ ।
०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट विजयी गहतराजले दोहोरिने चाहना गरेदेखि नै उनकै पार्टीमा असन्तुष्टि सुरु भएको थियो । हालसम्मका निर्वाचनमा सो क्षेत्रबाट एक पटक विजयी भएका उम्मेदवार दोस्रो पटक नदोहोरिएको इतिहास छ । यस पटक पनि नयाँ अनुहारले जित्ने संकेत त्यस क्षेत्रका मतदाताले देखाएका छन् ।