बाँके, २२ कात्तिक, २०७९ ।
नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । गत आर्थिक वर्ष ०७८–०७९ मा एक हजार दुई सय ५१ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
घरभन्दा बाहिर नजाने महिलाहरु समेत पछिल्लो समय स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने र स्वास्थ्य सल्लाह लिन थालेको उनले बताए । अघिल्लो आव ०७७–०७८ मा उक्त गाउँपालिकास्थित ६ वटा स्वास्थ्य संस्थामा एक हजार ३०७ जना गर्भवती महिलाले सुत्केरी सेवा लिएका थिए । यहाँ मुस्लिम र मधेसी समुदायको बाहुल्यता छ ।
गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउन थालेपछि मातृ तथा शिशु मृत्यूदर पनि घटेको छ । गत आव ०७८–०७९ एक जना सुत्केरी महिलाको मृत्यू भएको स्वास्थ्य शाखा प्रमुख साहले बताए । अघिल्लो आव ०७७–०७८ मा चार जना सुत्केरी महिलाको मृत्यू भएको थियो । स्वास्थ्य संस्थामा ढिलागरि ल्याएका कारण सुत्केरी महिलाको मृत्यू भएको उनको भनाई छ । ‘सुत्केरी ब्यथाले च्यापेको लामो समयसम्म घरमै राख्ने र अन्तिम अवस्थामामात्र स्वास्थ्य संस्थामा ल्याएकालाई बचाउन नसकिएको हो,’ उनले भने ।
पछिल्लो समय नवजात शिशु मृत्यूदर पनि घटेको छ । आर्थिक वर्ष ०७७–०७८ मा सात जना नवजात शिशुको मृत्यू भएकोमा आव ०७८–०७९ मा दुई जना नवजात शिशुको मृत्यू भएको उनले जानकारी दिए । गर्भवती महिला खोज पड्ताल अभियानसँगै स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहन गर्ने कार्यक्रमले नवजात शिशु तथा मातृ मृत्यूदर घटाउन सहयोग गरेको छ,’ साहले भने ।
गर्भवती महिलाले सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउने र आइरन चक्की खाने महिलाको संख्या पनि बढेको छ । एक वर्षमा आठ सय ६१ गर्भवती महिलाले तोकेको मापदण्ड अनुसार चार पटक गर्भ जाँच गराएका छन् ।
नियमित गर्भ जाँच गराउने २० वर्षभन्दा माथिका महिला हुन् । २० वर्षमुनीका १० जना गर्भवती महिलाले पनि गर्भ जाँच गराएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए ।
गाउँपालिकाले पाँच वर्षमुनीका बालबालिका, गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको छ । गाउँपालिकामा संचालनमा रहेका दुई एम्बुलेन्स मध्य एउटालाई बालबालिका, गर्भवती र सुत्केरी महिलाका लागि छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
उनले मातृ–शिशु मृत्यूदर घटाउन विशेष ब्यवस्था गरिएको बताए । ‘पालिकाभित्रका ६ वटै स्वास्थ्य संस्थामा २४ सै घण्टा सुत्केरी सेवा संचालनमा छ । पालिकामा सम्भव नहुने केसलाई तत्कालै नेपालगन्ज लैजान ब्यवस्था मिलाइएको छ,’ उनले भने ।
गाउँपालिकाले नियमित खोप सेवालाई पनि प्रभावकारी बनाएको छ । सवै बालबालिकालाई खोपको पहुँचमा पुर्याएपछि पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख सैयद इस्तियाक अहमद शाहले बताए । उनले गाउँपालिकालाई खोप सुनिश्चितता घोषणा समेत गरिसकेको बताए ।
गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे, डिजिटल एक्स–रे, ल्याव सेवा दिँदै आएको छ । त्यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी सेवा र आँखा जाँच सेवा दिँदै आएको छ ।
एक जना नेत्र विशेषज्ञ र एक जना नेत्र सहायकले आँखा जाँच सेवा दिँदै आएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । ‘बालबालिकालाई कुपोषणबाट जोगाउन स्वास्थ्य चौकी कालाफाँटा र गंगापुरमा कुपोषण उपचार सेवा संचालनमा ल्याएका छौँ,’ गाउँपालिका प्रमुख शाहले भने । गत आव ०७८–०७९ मा ३९ जना कुपोषित बालबालिकाको उपचार गरिएको गाउँपालिकाले जनाएको छ ।