बाँके, १८ कात्तिक, २०७९ ।
नेपालगन्ज उपमहानगरपालिका समेटेर बनेको क्षेत्र नं. २ पछि चर्चामा छ बाँके क्षेत्र नं. १ । यूवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) चुनावी प्रतिस्पर्धामा रहेकोले यो क्षेत्र चर्चामा छ । ०७४ को निर्वाचनमा उनलाई जिताउन सहयोगी भूमिका खेलेका एमालेका केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज समेत रहेका एमाले–राप्रपा गठबन्धनका सूर्य ढकालले उनलाई कडा टक्कर दिँदैछन् । एमालेको सहारामा विजयी भएका उनलाई यस पटक विरासत जोगाउन हम्मे–हम्मे पर्ने भएको छ ।
गहतराजको क्षेत्रमा पहिले माओवादी वलियो थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादीका तिलक परियार १६ हजार ८७ मत ल्याउँदै विजयी भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको साथ पाएर गहतराज प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले ३१ हजार १७३ मत ल्याउँदा उनका निकत्तम प्रतिद्वन्द्वी कांग्रेस–राप्रपा गठबन्धनका माधवराम खत्रीले २८ हजार २१७ र तत्कालिन संघीय समाजवादी फोरमले चार हजार ५८८ मत पाएको थियो ।
गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले पाएको मतको आधारमा माओवादी केन्द्र तेस्रो भएको छ । नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका समेटिएको उक्त निर्वाचन क्षेत्रमा कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् । कांग्रेसले २८ हजार ६१९, एमालेले २५ हजार ३१०, माओवादीले १७ हजार २३८, राप्रपाले चार हजार ५९५ र जसपाले तीन हजार ४५५ मत पाएका थिए ।

यहाँ एमाले–राप्रपा र सत्ता गठबन्धन दलसँगै नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिति भएकोले थारु समुदायको मत निर्णायक मानिन्छ । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुरेशकुमार चौधरी प्रतिस्पर्धामा रहेकोले थारु समुदायको मत उनलाई जाने भएपछि यसका प्रत्यक्ष मार अथकलाई पर्नेछ ।
विभिन्न संघसंस्थामा काम गरिसकेका सुरेशसँग एमाले, माओवादी र कांग्रेसको अनुभव छ । कांग्रेस परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका उनी सुरुवाती चरणमा एमाले थिए । अहिले उनी नागरिक उन्मुक्ति पार्टीको जिल्ला अध्यक्ष समेत हुन् ।
ठूला दलसँग थारु मतदाता रुष्ट
प्रमुख दलले थारु मुद्धा सम्बोधन नगरेको भान थारु समुदायलाई परेको छ । यो समुदायका मतदाताहरु यसपालीको निर्वाचनमा आफ्नै समुदायका उम्मेदवारलाई दिने पक्का जस्तै छ । गत स्थानीय तह निर्वाचनको मत परिणामले पनि त्यहि देखाएको छ । यसपालीको प्रतिनिधिसभा निर्वाचनमा थारु समुदायको मत थारु उम्मेदवारलाई जाने भएपछि यसको असर एमालेलाई भन्दा सत्तागठबन्धन दलका उम्मेदवारलाई बढि पर्ने आँकलन गरिएको छ । यो क्षेत्रमा बसोबास गर्ने थारुहरु एमालेमा भन्दा बढ्ता कांग्रेस र माओवादी केन्द्रमा छन् ।
कांग्रेसको मत बाँडिने, माओवादीमा असन्तुष्टि
यो क्षेत्रमा कांग्रेसको उम्मेदवार नभएकोले उक्त पार्टीको मत बाँडिने सम्भावना छ । खेलकुद मन्त्री समेत रहेका गहतराजले प्रतिनिधि सभा सदस्यमा पुनः दोहोर्याउन खोजेपछि कांग्रेस र उनकै पार्टीका नेता, कार्यकर्ता रुष्ट छन् । सांसद र मन्त्री भएका बेला समेत विकासका योजना नल्याएको, कार्यकर्ताको माग सम्बोधन नगरेको आरोप उनीमाथि लागेको छ । भने, लाभको पद पटक–पटक आफूले मात्र लिन खोजेको आरोप पनि उनीमाथि छ । यस पटक पनि गहतराज विजयी भए आफ्नो पार्टी कमजोर हुने डर कांग्रेसजनमा उत्तिकै छ ।
यता, यो क्षेत्रमा प्रदेससभा सदस्य समेत रहेकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना) उम्मेदवार बन्न चाहन्थिन् । उनले यसका लागि केन्द्रसम्म पहल गरिन्, तर पार्टीले फेरि गहतराजलाई नै टिकट दियो । यसमा उनले असन्तुष्टि जनाइन् । तर, कुनै सीप नचलेपछि उनी पुनः बाँके क्षेत्र नं. १ प्रदेससभा (क) को उम्मेदवार बनिन्् । यसको असर पनि गहतराजलाई पर्ने अनुमान गरिएको छ ।
एकताबद्ध भएर चुनावी मैदानमा एमाले
यो क्षेत्रमा एमाले पनि त्यति कमजोर छैन । उसलाई राप्रपाले साथ दिएको छ । उम्मेदवारीको विषयमा एमालेभित्र असन्तुष्टि नभएकोले एक ढिक्का भएर चुनावी मैदानमा होमिएको एमालेले सन्देश दिएको छ । नरैनापुरमा एमालेको खासै संगठन नभएकोले यहाँका मतदाताले साथ दिए एमालेका उम्मेदवार ढकाललाई जित निकाल्न सहज हुने छ । उनलाई थारु र मधेसी, मुस्लिम मतदाताले साथ दिने र एमालेका नेता, कार्यकर्ताले अन्तरघात नगरे चुनाव जित्न मुस्किल नपर्ने देखिन्छ । तर, यहाँ कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धन र एमाले–राप्रपा गठबन्धन वीच झण्डै १५ हजार मत अन्तर छ ।
मत अन्तर हुँदाहुँदै अथकलाई जित निकाल्न त्यति सहज छैन । उनलाई कांग्रेस र माओवादी केन्द्रमा आस्था राख्ने थारु समुदायका मतदातासँगै सत्तागठबन्धन दलका मतदाताले अन्तरघात नगरे मात्र जित निकाल्न सहज हुनेछ ।
क्षेत्रीयताको अन्तिम अस्त्र प्रयोग गर्ने सम्भावना
निर्वाचनका बेला साम, दाम, दण्डभेदको प्रयोग गरिन्छ । यस पटकको निर्वाचनमा पनि यी तिनवटै अस्त्र प्रयोग हुनेमा कुनै शंका छैन । अघिल्ला निर्वाचन जस्तै यस पटकको निर्वाचनमा पनि भेगिय र क्षेत्रीय नारा प्रयोग हुनेमा दुईमत छैन ।
सत्तागठबन्धन दलका उम्मेदवार रुकुमका भएको र यो क्षेत्रमा रुकुम, रोल्पा, दाङबाट बसाईसराई गरि आएका मतदाताको बाक्लो उपस्थिति रहेकोले अथकले अन्तिम अस्त्रको रुपमा क्षेत्रीयताको प्रयोग गर्ने सम्भावना औँल्याइएको छ । उनले हरेकजसो कार्यक्रममा आफू रुकुम, रोल्पा, सल्यान, दाङको प्रतिनिधित्व गर्दै आएको दावी गर्दै आएका छन् । ‘अथकले अन्तिममा भेगियता र क्षेत्रीयतालाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्नसक्ने प्रवल सम्भावना छ,’ एक राजनीतिक विश्लेषकले भने ।
पूर्वमन्त्री भण्डारीको साथले सूर्यलाई जित्न निकाल्न सहज
उता, एमाले–राप्रपा गठबन्धनका उम्मेदवार ढकाललाई जिताउन पूर्व मन्त्रीसमेत रहेका राप्रपाका लोकप्रिय पुराना नेता प्रेमबहादुर भण्डारीको साथ आवश्यक छ । एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई जिताउन उनी अघि सरे ढकाललाई जित निकाल्न सहज हुने छ ।
भण्डारीको राप्तीसोनारी, नरैनापुर र कोहलपुर क्षेत्रमा राम्रो प्रभाव छ । राप्तीसोनारी र नरैनापुरमा विद्युतिकरणका लागि पहिलो प्रयास उनले नै गरेका थिए । उनकै पहलमा नरैनापुर क्षेत्रमा विद्युत पोल गाडिएका हुन् । भण्डारीले निस्वार्थभावका साथ एमाले–राप्रपा गठबन्धनलाई सहयोग गरे यो क्षेत्रमा ‘सूर्य’ चम्किने निश्चित छ । तर, मत परिणाम नआउँदासम्म कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन ।