बाँके कारागारका दुई बन्दीले पाए समानुपातिकतर्फ मताधिकार

बाँके, १७ कात्तिक, २०७९ ।


जिल्ला कारागार बाँकेका दुई जना बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका दुई बन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्न पाउने भएको जिल्ला कारागारका प्रमुख अर्जुनजंग शाहले जानकारी दिए ।
उनले निर्वाचन आयोगले माग गरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाउँदा दुई जनाले मात्र समानुपातिकतर्फ मतदान गर्न पाउने बताए । ‘नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको छ,’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुईजना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरूले अस्थायी मतदाताका रूपमा मताधिकारको प्रयोग गर्न पाउने बताइन् । ‘जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीसहित एक हजार ६ सय ३१ जनाले अस्थायी मतदाताका रूपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने छन्,’ उनले भनिन् ।

Previous articleठाकुरसिंह थारु : आवाजविहिन जनताको आवाज
Next articleचामल आयातमा नेपालगन्ज भन्सारको कडाई (फोटो र भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here