अन्तर्राष्ट्रिय पुरस्कार विजेता डिल्ली चौधरी : दासता विरुद्धका जुझारु योद्धा

दाङ, १२ कात्तिक, २०७९ ।


दाङ निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (क) का प्रदेससभा सदस्यका उम्मेदवार हुन् डिल्लीबहादुर चौधरी । तुलसीपुर उपमहानगरपालिका डुम्रीगाउँको सामान्य परिवारमा जन्मिएका उनी सानै उमेरदेखि दासता विरुद्ध आवाज उठाउँदै यूवालाई संगठित गर्ने एक योद्धा हुन् । सामान्य थारु परिवारमा जन्मिए पनि उनले स्कुल पढ्दै गर्दा शोषण, दमन, अत्याचार विरुद्ध आवाज उठाउन सुरु गरे । जुझारु स्वभावका उनी असफलतादेखि कहिलै हरेस खाँदैनन् । असफलतालाई सफल बनाउन उनी दुई कदम पाइला चाल्छन् ।
२०४७ सालतिर प्रौढ शिक्षाको कक्षा संचालन गर्न दाङमा अहिलेको जस्तो सजिलो थिएन । पछाडी परेको थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायलाई शिक्षा दिएर राज्यको मुलधारमा ल्याउन खोज्दा उनी शोषक, सामन्तीको घेराबन्दी पर्थे । शिक्षाको ज्योति फैलाउन शैक्षिक अभियान चलाउन खोज्दा उनले ज्यान मार्ने धम्की खान पर्यो । तर, उनले हिम्मत हारेनन् ।
विभिन्न डर, धम्कीका बाबजुद उनले दाङको अधिकांश गाउँमा ‘लालटिन अभियान’ चलाए । त्यसको फलस्वरुप दाङका हजारौँ यूवाले शिक्षा लिने अवसर पाए । शोषक, सामन्त, दलालको धम्कीबाट जोगिन उनी लुकेर बस्न परेको थियो । ‘ज्यान मार्ने धम्की दिएपछि कयौँ दिन हाम्रो गाउँको एक घरमा डिल्ली जी लुकेर बसेको मलाई भर्खरै जस्तो लाग्छ,’ दंगीशरण गाउँपालिका १ रहरपुरका रेशमबहादुर चौधरीले भने ।
उनले बर्षौँदेखि दासत्व जिवन विताइरहेका कमैया, कम्लहरी, बुक्रही मुक्तिका लागि आवाज उठाए । उनकै नेतृत्वमा कमैया प्रथा विरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु भएको थियो । कमैया प्रथा विरुद्ध गाउँँ–गाउँ, बस्ती–बस्तीबाट सर्वसाधारण मैदानमा उतारेपछि तत्कालिन सरकारले २ साउन, ०५७ मा सौँकी मिन्हा गर्दै कमैया प्रथा अन्त्य भएको घोषणा गरेको थियो ।
दाङ निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (क) मा सत्तागठबन्धन दलको तर्फबाट रुख चिन्ह लिएर चुनावी मैदानमा होमिएका चौधरीले दासता विरुद्ध आन्दोलन गरेर नेपालबाट कमैया प्रथा अन्त्य गराएको सम्मान स्वरुप अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । उनले सन् १९९२ मा अमेरिकाबाट ‘द अशोका फेलोसिप अवार्ड’ पाए ।
नेपालबाट कमैया प्रथा उन्मुलनसँगै अधिकाबाट बञ्चित थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायको मानवअधिकार स्थापित गराउन सहयोग गरेको भन्दै अमेरिकाले सन् १९९४ मा ५० हजार अमेरिकी डलरसहित ‘रिबोक इन्टरनेशनल ह्यूमन राइट अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।
यी दुई पुरस्कारले उनलाई पछाडी पारिएका समुदायलाई शिक्षा प्रदान गरि उनीहरुको अधिकार स्थापित गराउने अभियानमा लाग्न थप हौसला मिल्यो । उनले दाङमा सिमित रहेको परियोजनालाई बाँके र बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत र रुकुमसम्म विस्तार गरे । शिक्षा र अधिकारलाई पहिलो प्राथमिकतामा राखेका उनको अभियानले हजारौँ नागरिक शिक्षा लिन पाए ।
दासता विरुद्धको अभियान चलाएर थारु, दलित, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई राज्यको पहुँचमा पुर्याएको भन्दै बेलायतबाट सन् २००२ मा ‘एन्टिस्लेभरी इन्टरनेशलन अवार्ड’ पाउन सफल भए ।
यो पुरस्कार पाएको एक वर्ष वित्न नपाउँदै उनी सन् २००३ मा भारतबाट ‘द रामकृष्ण जयदयाल हार्मोनी अवार्ड’ बाट सम्मानित भए । अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका चौधरीले नेपाल सरकारबाट पनि विभिन्न मानपदवी पाएका छन् ।
उनले १९९४ मा नेपाल सरकारबाट सुप्रवल गोर्खा दक्षिणबाहु तेस्रो र सन् २००४ मा सुप्रवल गोर्खा दक्षिणबाहु त्रिशक्ति पट्टबाट विभुषित भइसकेका छन् । यी दुवै पुरस्कार तत्कालिन राजा वीरेन्द्र वीरविक्रम शाहको हातबाट पाएका उनी नेपाल सरकाकारको श्रम राज्य मन्त्री भइसकेका छन् ।
लुम्विनी प्रदेसको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रीको भूमिकामा रहेका उनी पुनः दाङ क्षेत्र नं. ३ प्रदेससभा (क) बाट प्रदेससभा सदस्यका लागि चुनावी मैदानमा छन् । मुख्यमन्त्रीको लाइनमा रहेका उनी यस पटकको निर्वाचनमा पनि दंगाली मतदाताले माया गरेर आफूलाई मतदान गर्नेमा ढुक्क छन् ।
अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गरेका उनी दंगाली जनतामाझ लोकप्रिय मानिन्छन् । ‘गत निर्वाचनभन्दा यसपाली झन धेरै मत अन्तरले यस क्षेत्रका मतदाताले विजयी बनाउनेमा म ढुक्क छु,’ उनले भने ।

Previous articleकरिव ६ ग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ
Next articleजन-जन, मन-मनका ढुकढुकी : किस्मतवाला किस्मत कक्षपति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here