बाँके, ११ कात्तिक, २०७९ ।
विक्रम सम्बत् २०४६ साल । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भर्खरै भएको थियो । प्रजातन्त्र पुनस्र्थापना भएको खुसीयाली नेपाली जन–जनमा फैलिएको थियो । पञ्चायती ब्यवस्थाले दमनमा परेको महशुस गरेका नेपालीहरु प्रजातन्त्रको फाइदा उठाउँदै धमाधम गैरसरकारी संघसंस्था दर्ता गर्दै थिए । संघसंंस्था दर्ता गर्ने मध्ये दाङका यूवा डिल्लीबहादुर चौधरी पनि एक थिए ।
थारु समुदायलाई चार तारे क्लवबाट साक्षर बनाउने अभियान थालेका उनले गैरसरकारी संस्थामार्फत जागरण ल्याउने निधो गरे । शिक्षा नभएकै कारण थारु समुदाय पछाडी परेको निक्र्यौल गरि उनले २०४७ सालमा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) नामक संस्था जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गराए । बेस नामक संस्था दर्ता गराउने क्रममा उनले शोषक, सामन्तिबाट अनेकौँ किसिमका बाधा र अवरोध खेप्न नपरेको होइन् । प्रशासनका कर्मचारीले पनि विभिन्न बहानामा संस्था दर्ता गर्न आनाकानी गरेको उनको मानसपटलमा अहिले पनि ताजै छ । ‘वर्षौँदेखि शोषण गर्दै आएका शासकहरुले संस्था दर्ता नगर्न प्रशासनलाई दवाव दिन्थे । हामीले गैरसरकारी संस्था ऐन अन्तरगत संस्था दर्ता गर्न दवाव दियौँ । फलस्वरुप हाम्रो जित भयो,’ उनले विगत सम्झिए ।
उनले डेनमार्क सहयोग नियोग (डानिडा ह्यूगो) को सहयोगमा दाङका गाउँ–गाउँमा साक्षरता कक्षा संचालन गरे । उनको साक्षरता अभियानमा थारु गाउँका अगुवा, यूवायूवती, मटावा, भल्मन्साले साथ दिए । सुरुमा उनले गाउँका यूवालाई स्वयम्सेवकको रुपमा परिचालन गरे । साक्षरता कक्षामा प्रौढदेखि विद्यालय जानबाट बञ्चित यूवायूवती साक्षरता कक्षामा सहभागी भए । पढ्न, लेख्न जान्नेहरु असाक्षरलाई साक्षर बनाउने अभियानमा सरिक भए । विद्यालय जाँदै गरेका यूवाहरु पालैपालो साक्षरता कक्षामा गएर आफ्ना दौतरी र अभिभावकलाई पढ्न, लेख्न सिकाए ।
साक्षरता कक्षामा सहभागी भएका विद्यालय जाने उमेर समुहका किशोरकिशोरीलाई बेसको सहयोगमा विद्यालय भर्ना भए । विद्यालय भर्नाका लागि बेसले सहजीकरण गर्दथ्यो । विद्यालय जाने थारु समुदायका विद्यार्थीलाई उनले नेतृत्व गरेको बेस संस्थाले किताव, कापी, कलम र विद्यालय पोशाक किन्न सहयोग गर्दथ्यो । बेसको उक्त अभियानले प्रौढहरु साक्षर भए, विद्यालय जाने उमेर समुहका बालबालिका विद्यालय गएर उच्च शिक्षा आर्जन गरे ।
थारु समुदायमा शिक्षाको ज्योती फैलाएर ‘साक्षर थारु, समृद्ध थारु समुदाय’ को नारालाई आत्मसाथ डिल्लीबहादुर चौधरीले साक्षरता कक्षाका लागि गाउँ–गाउँमा लालटिन बाँडे । हरेक विद्यार्थीलाई एक–एक वटा लालटिन दिएर पढ्ने प्रेरणा दिए । ‘सदियौँदेखि चेपुवामा परेका थारु समुदायले डिल्ली जीले थालेको साक्षरता अभियानमा साथ दिए । जसका कारण बेसले संचालन गरेको साक्षरता अभियानले दाङका कुनाकाप्चाका थारु साक्षर भए । डिल्लीबहादुर चौधरीको भिजन र मिसनले गरिवीको रेखामुनी रहेका थारुहरु शिक्षित र जागरुक समुदायको रुपमा स्थापित भए,’ गरिवी निवारण कोषका पूर्व निर्देशक नहकुल केसीले भने, ‘थारुलाई साक्षर बनाएर सरकारी तथा गैरसरकारी संस्थामा जागिरीका लागि प्रतिष्पर्धा गर्न सक्ने योग्य बनाउने काम डिल्ली जीले गर्नु भयो ।’
दाङमा सफल भएपछि थारु समुदायलाई साक्षर बनाउने अभियानलाई उनले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा विस्तार गरे । दासत्व, गरिबी विरुद्ध र पूर्व कमैया, थारु, दलित, आदिवासी र सीमान्तकृत समुदायको अधिकारका लागि उनले सवै किसिमका उपाय अवलम्बन गरे ।
ग्रामीण सीमान्तकृत समुदायलाई उनीहरूको दिगो विकासको लागि विकासात्मक परियोजनाहरू मार्फत उनले पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा सेवाहरू विस्तार गरे । ‘हाम्रा सेवाहरू मुख्यतया शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सुशासन, आय आर्जन, वैकल्पिक ऊर्जा प्रवद्र्धन, द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, बालश्रम र कम्लहरी प्रणालीको उन्मूलन, गरिबी न्यूनीकरण, जीविकोपार्जन, कृषि, संगठनात्मक विकास तथा समग्र रूपमा सामुदायिक परिचालनमा केन्द्रित थियो,’ उनले भने ।
संगठनलाई सशक्त बनाउन र बेसलाई यो स्थितिमा पुग्न महत्वपूर्ण भूमिका, सेवाहरू प्रदान गर्ने पेशेवरको रुपमा उनलाई ‘कागज–व्यक्ति’ भनेर चिनिन्छ । भने लबी र वकालत तथा सामुदायिक परिचालन गर्ने सदस्यहरूलाई ‘जन–जन’ भन्ने गरेको उनले बताए ।
डिल्लीले स्थापना गरेको बेसले गतिशील नेतृत्व विकास गर्न, समुदायको मागमा आधारित रहेर काम गर्ने र पहुँच नभएका समुदायको विकासका लागि दृष्टिकोण परिवर्तन गर्न एकीकृत सामुदायिक विकासमा ध्यान केन्द्रित गर्दैै आएको छ । उनले चालेको अभियानले शिक्षाको ज्योति छर्दै गरिवीको रेखामुनी रहेका थारु समुदायलाई अन्य समुदायसँग प्रतिष्पर्धा गर्न योग्य बनाए । ‘बेसले थारु समुदायलाई ठूलो गुण लगाएको छ । थारु समुदायको शिक्षामा जोड दिएकै कारण थारु समुदायका युवा इन्जिनियरदेखि चिकित्सक भएका छन् । अमेरिका, जापान, अष्ट्रेलिया जस्ता देसमा रोजगारका लागि पुगेका छन् । यसको श्रय बेस संस्थालाई जान्छ,’ तुलसीपुर उपमहानगरपालिका १५, धमकापुरका लोकजन चौधरीले भने ।
कमैया प्रथा उन्मुलनका नाइके
डिल्लीबहादुर चौधरीले स्थापना गरेको बेसले बर्षौँदेखि दासत्व जिवन विताइरहेका कमैया, कम्लहरी, बुक्रही मुक्तिका लागि आवाज उठाए । उनकै नेतृत्वमा कमैया प्रथा विरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आन्दोलन छेद्ने काम भयो । कमैया प्रथा विरुद्ध गाउँँ–गाउँ, बस्ती–बस्तीबाट सर्वसाधारण मैदानमा उत्रिए । शान्त सहर, कान नसुनेको बहाना गर्ने तत्कालिन सरकारको ध्यान केन्द्रित गर्ने कार्य उनै डिल्लीबहादुर चौधरीले गरे ।
उनले थालेको आन्दोलन र दिएको शिक्षाबाट प्रेरित भएका कमैयाहरु मालिकको घरबाट बाहिर निस्किएर आन्दोलनमा सहभागी भए ।
फलस्वरुप तत्कालिन सरकारले कमैयाहरुको सौँकी मिनाह गर्ने निर्णय गर्दै कमैया मुक्तिको घोषणा गर्न बाध्य भएको थियो । कमैयालाई मुक्त बनाउने श्रेय पनि उनै डिल्लीबहादुर चौधरीलाई जान्छ । ‘गरिब, पूर्व कमैया, थारु, दलित, आदिवासी र सीमान्तकृत समुदायको अधिकारका लागि स्थापना कालदेखि नै उत्कृष्ट कार्य गर्न पाउँदा म अत्यन्त खुसी छु,’ चौधरी भन्छन् ।
मुख्यतया शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सुशासन, आय आर्जन, वैकल्पिक ऊर्जा प्रवर्द्धन, द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, बालश्रम र कम्लहरी प्रणालीको उन्मूलन, गरिबी न्यूनीकरण, जीविकोपार्जन, कृषि, संगठनात्मक विकास र समग्र रूपमा सामुदायिक परिचालनमा केन्द्रित रहेर काम गरेका उनी नीति निर्माण तहमा पुगेर पछाडी परेका समुदायको उत्थानका लागि काम गर्ने चाहना राखेका छन् । उनी दाङ निर्वाचन क्षेत्र नं ३ प्रदेससभा (क) मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।