बाँके, ५ कात्तिक, २०७९ ।
भारतीय सीमावर्ती बजार रुपइडिहामा शनिवार मात्र करिव ४० हजार नेपाली किनमेलका लागि गएको अनुमान गरिएको छ । नेपालगन्ज, कोहलपुर बजार छाडेर नेपालीहरु तिहारको सामग्री किनमेल गर्न रुपइडिहा गएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए ।
उनले दसैँभन्दा तिहारमा किनमेल गर्न भारतीय बजार जानेको संख्या बढि भएको बताए । तिहार लागेदेखि नै किनमेलका लागि भारतीय बजार जानेको संख्या बढे पनि शनिवार जानेको संख्या अत्यधिक भएको बताए । ‘किनमेल गरेर फर्किनेको दिउँसो थामिनसक्ने भीड थियो । एकछिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड ब्यवस्थापन गर्न हम्मे–हम्मे पर्यो,’ उनले भने, ‘भीडका कारण राम्रोसँग चेकजाँच गर्न समेत सकस भयो ।’

उनले पटाका तथा पटाकाजन्य बस्तु ल्याउन नदिन कडाई गरिएको बताए । दुई–चार वटा पटाका ल्याएको फेला पर्ने वित्तिकै जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउने गरिएको उनको भनाई छ । उनले दैनिक उपभोग्यका सामान ल्याउन सर्वसाधारण रुपइडिहा जाने गरेको बताए । ‘तिहारमा आवश्यक पर्ने खाद्यन्न, भाई मसला, लुगा किनेर ल्याएको देखिन्छ,’ उनले भने ।
उनले शनिवार मात्र रुपइडिहामा पाँच करोडको कारोवार भएको अनुमान लगाए । बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसम्मका सर्वसाधारण किनमेल गर्न रुपइडिहा गएको उनले बताए । ‘गन्यमान्यदेखि सर्वसाधारण ब्यक्ति किनमेलका लागि रुपइडिहा गएको देखिन्छ । किनमेलका लागि जाने नेपालीको लाइन देख्दा पश्चिम नेपाका अधिकांश सर्वसाधारण रुपइडिहामा निर्भर भएको अनुमान लगाउन सकिन्छ,’ बरिष्ठ सई रिजालले भने ।





