बाँकेमा चुनावी अभियान तीव्र, उम्मेदवारहरु मतदाता भेट्घाटमा ब्यस्त

बाँके, ४ कात्तिक, २०७९ ।


निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा चुनावी चलहपहल बढेको छ । मुख्य राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियानलाई तीव्र पारेका छन् । कांग्रेस, एमाले, माओवादी, जसपा, राप्रपाका उम्मेदवार घरदैलो अभियानलाई तीव्र पारेर मतदाता रिझाउन ब्यस्त देखिन थालेका छन् ।
एमालेले तीन वटै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरि चुनावी अभियान थालेको उपाध्यक्ष डिल्ली विसीले बताए । उनले पहिलो चरणमा उम्मेदवारसँगै नेता, कार्यकर्ताहरुले घरदैलो अभियानमा जुटेको बताए । मतदातालाई एमालेको आगामी नीति तथा उम्मेदवारको बारे बुझाउन घरदैलो अभियान थालेको उनको भनाई छ । ‘उम्मेदवारसँगै एमालेका नेता, कार्यकर्ता, शुभचिन्तकहरु सम्पूर्ण मतदाताको घरमा पुगेर एमालेको नीति तथा उम्मेदवारको परिचय गराउने काम भइसकेको छ,’ उनले भने ।
उनले गठबन्धन दलसँग सहकार्य गरि मतदातामाझ गएको बताए । एमालेले बाँकेमा राप्रपासँग गठबन्धन गरेको छ । ‘अधिकांश ठाउँमा सँगसँगै जाने गरिएको छ । आवश्यकता अनुसार कतै–कतै एक्लाएक्लैले अभियान संचालन हुन्छ,’ उपाध्यक्ष विसीले भने ।
नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान संचालन गरेको सभापति नारायणप्रसाद गौडेलले बताए । उनले आमसभा र भाषणभन्दा घरदैलो अभियानमा जोड दिएको उनको भनाई छ । उम्मदेवारलाई साथमा लिएर मतदाताको घर आँगनमा पुगेर भोट मागेको उनले बताए । ‘चाडपर्वका कारण भाषणभिषणका कार्यक्रम गर्न सकिएको छैन । पहिलो चरणमा मतदाता भेटघाट र परिचयात्मक कार्यक्रमलाई महत्व दिएका छौँ,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) ले पनि जिल्लाका अधिकांश ठाउँमा चुनावी अभियान गरिरहेको जनाएको छ । अध्यक्ष डम्बरबहादुर विकले गठबन्धनसँगको सहकार्य र समन्वयमा जिल्लाभर चुनावी अभियान थालेको बताए । उनले आफ्नो दलका उम्मेदवार भएको क्षेत्रमा विशेष अभियान थाले पनि सत्ता गठबन्धन भित्रका अन्य दलका उम्मेदवार भएका क्षेत्रमा समेत प्रचारप्रसार गरिरहेको बताए । ‘निर्वाचनको माहोल तात्तिसकेको अवस्था छैन । तै पनि हाम्रो दलले मतदाताको घरदैलोमा पुगेर मत माग्ने काम जारी छ । हामीले हाम्रो उम्मेदवारलाई जस्तै गठबन्धन दलका उम्मेदवारका लागि भोट मागिरहेका छौँ,’ उनले भने ।
राप्रपाले विशेषगरि नेपालगन्जमा चुनावी अभियानलाई तीव्र पारेको छ । महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणा यो क्षेत्रको उम्मेदवार भएकोले पनि राप्रपाले सम्पूर्ण शक्ति नेपालगन्जमा लगाएको केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए । उनले गठबन्धन दल एमालेलाई साथमा लगाएर चुनावी अभियान थालेको बताए । त्रिभुवन चोकमा सम्पर्क कार्यालय स्थापना गरेको एमाले–राप्रपा गठबन्धनले डुडुवा गाउँपालिका र नेपालगन्जका अधिकांश टोलमा पुगिसकेको उनको भनाई छ । ‘एक चरणको अभियान सकिनै लागेको छ,’ उनले भने ।
जसपा बाँकेले पनि आफ्नो सम्पूर्ण शक्ति क्षेत्र नं. २ मा लगाएको जनाएको छ । जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले घर–घरमा गएर मत माग्ने र आफ्नो प्रतिवद्धता पत्र बाँड्ने क्रम जारी रहेको बताए । उनले मतदाता भेटघाट कार्य सकिनै लागेको बताए । ‘मेरो टीम दिनरात नभनि चुनावी अभियानमा खटिएको छ । अहिलेसम्म अधिकांश मतदाताको घरमा पुगिसकेका छौँ,’ उनले भने, ‘मतदाताबाट पाएको वचन र प्रतिवद्धताबाट थप हौसला मिलेको छ ।’
त्यसैगरी, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी, बागेश्वर चौलागाई लगायतले चुनावी अभियानलाई तीव्र पारेको जनाएका छन् । अग्रहरी र खनालले घरदैलो अभियान संचालन गरिरहेका बेला चौलागाईले अटो रिक्सामा ब्यानर टाँगेर बजारमा पठाएका छन् । झण्डै एक दर्जन अटो रिक्सा उनको प्रचारप्रसारमा जुटेको उनले बताए ।

Previous articleबर्दियामा एमालेको लक्ष्मण रेखा कोर्दै ज्ञवाली
Next articleभाषणमा खरो, काममा दह्रो, पाएको जिम्मेवारी पूरा गर्ने सुरो ‘भीम ओली’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here