अन्ततः भेरी अस्पताल परिसरसँग जोडिएका सटर भत्काउन रेड्क्रस सहमत

बाँके, २ कात्तिक, २०७९ ।


नेपाल रेड्क्रस सोसाइटी अन्ततः भेरी अस्पताल परिसरसँग जोडिएको सटर भत्काउन सहमत भएको छ । आफ्नो मातहतमा रहेको जमिनमा रेड्क्रसले बनाएका सटर अस्पतालले भत्काउन थालेपछि रेड्क्रसले आपत्ती जनाउँदै अदालत गुहारेको थियो । अदालतले अस्पतालको पक्षमा फैसला गरेपछि रेड्क्रस पछाडी हटेको हो ।
अस्पताल परिसरसँग जोडेर रेड्क्रसले ६ वटा सट निर्माण गरि भाडा असुल्दै आएको थियो । अदालतको फैसला पछि रेडक्रसको भोगाधिकारमा रहेका ६ वटा सटर भत्काउने सहमति भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले बताए ।
सटर भएको भवन भत्काउने क्रममा हुने नोक्सानीको क्षतिपूर्तिका लागि अस्पताल विकास समितिले पहल गर्ने प्रतिवद्धता जनाएपछि भत्काउन दिने सहमति भएको नेपाल रेड्क्रस सोसाइटीका सभापति गोवद्र्धन सिंह सम्झनाले बताए ।
सरकारी कार्यालयका प्राविधिकबाट मुल्यांकन गराई सरोकारवाला मन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न अस्पतालले जिम्मा लिएपछि सटर भएको भवन भत्काउन दिएको उनको भनाई छ । ‘सटर भत्काउँदा रक्त संचार सेवा केन्द्रको भवनमा कुनै असर–क्षति भएमा अस्पताल विकास समितिले नै मर्मत सम्भार गर्ने, रक्त संचार सेवा केन्द्रमा नियमित विद्युत आपुर्ति व्यवस्था गर्ने सहमति पनि भएको छ,’ उनले भने ।
त्यसैगरी, रक्त संचार सेवाको नयाँ भवन निर्माण भए उक्त भवनमा पनि अस्पतालले नै विद्युतको ब्यवस्था गर्ने र रेडक्रसको माथिल्लो तलामा रक्त संचार सेवामा प्रयोग भइरहेका उपकरण, फर्निचर, ल्याव सामग्रीको उचित व्यवस्थापन गर्न अस्पतालले उपयुक्त व्यवस्था गर्ने सहमति पनि भएको छ । ‘रक्त संचार सेवा केन्द्रको भवनमा कुनै पनि असर नपर्ने गरि अस्पताल विकास समितिले आफ्नै खर्चमा संरचना व्यवस्थापन गर्ने, भवन भत्काउँदा निस्कने इट्टा, झ्याल, ढोका, सरिया लगायतका सामग्री नेपाल रेडक्रस सोसाइटीलाई नै दिइने छ,’ रेड्क्रस र अस्पताल वीच भएको सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा अस्पतालको तर्फबाट रेड्क्रस बाँके सभापति गोवद्र्धन सिंह सम्झना र अस्पतालको तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले हस्ताक्षर गरेका छन् । सहमतिलाई कार्यान्वयन दुवै पक्षले प्रतिवद्धता जनाएका छन् ।
भवन भत्काउने बेला विवाद भएपछि सरकारले रक्त संचार सेवा केन्द्र भवन निर्माणका लागि वजेट विनियोजन गरेको छ । अस्पताल परिसरमै भवन निर्माणका लागि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले यसअघि नै शिलान्यास गरिसकेका छन् ।

Previous articleप्रतिनिधिसभा सदस्य निर्वाचन : राईले थाले घरदैलो अभियान
Next articleसूर्यको प्रतिवद्धता–चप्परगौडी-खड्गवार-घुइयाबारी सडक निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here