बाँके, १ कात्तिक, २०७९ ।
सत्तागठबन्धन दलको तर्फबाट बाँके क्षेत्र नं. ३ (क) माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) ले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दोहोर्याएका छन् । उनले भर्खरै पार्टी प्रवेश गरेका स्वतन्त्र उम्मेदवार दलवहादुर सुनारलाई पार्टीले समर्थन गर्ने कुरामा कुनै सत्यता नभएको बताए ।
स्वतन्त्र उम्मेदवार सुनार ३१ असोजमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनी नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य हुन् । सत्तागठबन्धन दलले बाँकेमा एकीकृत समाजवादीलाई एक सिट पनि नदिएपछि असन्तुष्टि जनाउँदै उनले बाँके क्षेत्र नं. ३ प्रदेससभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले सुनारलाई पार्टीको आधिकारिक उम्मेदवार बनाउने कुरा मनको घ्यूसँग लड्डु खाए जस्तै भएको बताए । ‘निर्वाचनको मुखमा पार्टी प्रवेश गरेकालाई दिन सकिदैन, तपाई नै पार्टीको आधिकारिक उम्मेदवार हो । ढुक्क भएर प्रचार प्रसारमा लाग्नुस् भन्ने आश्वासन शिर्ष नेताले दिनु भएको छ,’ उनले भने, ‘मनगढन्ते कुरा गरेर मतदातामाझ भ्रम छर्ने काम कसैले नगरे हुन्छ । अन्तिम अवस्थामा मैदान खाली गर्न सकिदैन । म कुनै पनि हालतमा आत्मसमर्पण गर्दैन ।’
उता नेकपा (एकीकृत समाजवादी) छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारले पनि उम्मेदवारी कायमै रहेको स्पष्ट पारेका छन् । टेलिफोन सम्वादमा उनले माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आइपी खरेललाई ब्याक गर्ने सहमतिमा माओवादी केन्द्र प्रवेश गरेको बताए ।
उनले पनि कुनै हालतमा उम्मेदवारी नछोड्ने दोहोर्याए । ‘जुन सहमति गरेर मलाई पार्टी प्रवेश गराइएको छ, त्यो कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘आइपी जी पछाडी हट्नु भएन भने मैले पनि उहाँका लागि मैदान छोड्ने कुरा आउँदैन । चुनावको अन्तिम दिनसम्म लडिरहने छु ।’
उनले माओवादी केन्द्रका नेता, कार्यकर्ता आइपीको भन्दा आफ्नो पक्षमा धेरै भएको दावी गरे । नेता, कार्यकर्ताको मागलाई मध्यनजर गरि माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाई छ । ‘मेरो उम्मेदवारी पक्का भनेर मलाई पार्टी प्रवेश गराइएको छ । विच बाटोमा ल्याएर मलाई त्यसै छोड्न मिल्दैन । बाँकी कुरा प्रवेश गराउनेले जानुन्,’ संविधान सभा सदस्य समेत रहेका सुनारले भने ।