बाँके, ३१ असोज, २०७९ ।
दीन-दुखीका सारथी हुन् अमर खड्का । कसैलार्ई दुख परेको सुन्ने वित्तिकै भेट्न सम्बन्धित ब्यक्ति कहाँ पुग्छन् उनी । सहयोगी हात बढाएर दुखेको घाउमा मल्हम लगाउने प्रयास गर्छन् । जस्तोसुकै परिस्थितीमा पनि उनी दुखमा परेकालाई साथ र सहयोग दिन पछाडी हट्दैनन् । दुखी, गरिवका लागि काँध थाप्ने उनको बानी छ । ‘मेरो बाजेले सुखका बेला बरु नजानु, दुखका बेला जान नछोड्नु भन्ने सिकाएकोले दुखमा परेको थाहा पाएसम्म सम्बन्धित ठाउँमा पुग्छु,’ उमर भन्छन्, ‘दुखमा परेकालाई आफ्नो वलबुताले भ्याएको सहयोग गर्छु । आफूले नसक्ने अवस्थामा अरुको सहयोगमा दीनदुखीको पक्षमा वकालत गर्छु । दीनदुखीको सयहोग गर्न पाउँदा मन आनन्दित हुन्छ । यसलाई मैले मानविय धर्म र कतब्र्यका रुपमा आत्मसाथ गरेको छु ।’
अमर हकी स्वभावका छन् । झुठो बोल्दैनन् र कहिलै गलत आश्वासन दिदैनन् उनी । समाजसेवाबाट राजनीतिमा आएका उनीसँग विकासका योजना बनाउने कला छ । समाजका समस्या बुझ्ने खुवी पनि उत्तिकै छ । अमरसँग सत्यको पक्षमा वकालत गर्न जोश र जाँगर पनि छ । ‘म राप्तीपारीका गाउँ–गाउँ पुग्छु । सर्वसाधारण नागरिकको पीडा बुझ्छु । आवश्यक योजनाको खाका तयार पारेर जिल्ला, प्रदेस र केन्द्रसम्म पुर्याउन सहयोगी भूमिका निभाउँछु,’ उनले भने ।
२०३६ सालमा साविक फत्तेपुर गाविस ८ सिधनवामा जन्मिएका अमर ०४९ सालमा नेपाल विद्यार्थी संघ मंगलप्रसाद मावि नेपालगन्जको स्कुल कमिटी सचिव भएर काम गरे । ०५९ सालमा उनी यूएनडिपीको रुरल अर्वान पार्टनरसीप प्रोग्राममा काम थाले देखि उनको समाजसेवा सुरु भएको थियो ।
०६१ सालमा सिद्धेश्वर मावि फत्तेपुरको शिक्षक–अभिभावक संघको संस्थापक अध्यक्ष भएपछि समाजसेवाले झनै मूर्त रुप लियो । सिद्धेश्वर माविलाई राप्तीपारीको पहिलो उच्च मावि बनाउन उनले ठूलो संघर्ष गर्न पर्यो, तर उनले हिम्मत हारेनन् । फलस्वरुप फत्तेपुर गाविस पूर्व अध्यक्ष समेत रहेका समाजसेवी तारा कसेरा, प्रधानाध्यापक शशीराम कार्की लगायतको सहयोगमा सिद्धेश्वर माविलाई उच्च मावि बनाउन सफल भए । अहिले त्यहाँ क्याम्पस समेत संचालनमा छ ।
उनले समाजसेवासँगै राजनीतिलाई पनि अगाडी बढाई रहे । ०६२ सालमा नेपाली कांग्रेस फत्तेपुर गाविस कमिटीको उप–सभापति भएका अमर चार वर्ष वित्न नपाउँदै ०६६ सालमा नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमितिमा चयन भए ।
अमर संघर्षसँग डराउँदैनन् । संघर्षले जिवनलाई झनै निखार ल्याउने उनको बुझाई छ । एकपछि अर्को संघर्षसँग जुध्ने उनी ०६८ सालमा नेपाली कांग्रेस बाँकेको संगठन विभाग प्रमुख भएर जिम्मेवारी निर्वाह गरे । ०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका उनी नेपाल–भारत मैत्री संघको केन्द्रीय सदस्य पनि हुन् ।
पाएको जिम्मेवारी दत्तचित्त लगाएर फत्ते गर्ने उनको बानी छ । जिम्मेवारी निर्वाह गर्दागर्दै अपजस दिए उनलाई चित्त बुझ्दैन । नेपाली कांग्रेसका लागि राम्रो गर्दागर्दै अपजस मिलेपछि ०७४ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । माओवादी केन्द्रको लुम्विनी प्रदेस संयोजक भएका उनी एमाले–माओवादी केन्द्र एकिकरणपछि नेकपाको केन्द्रीय सदस्य भए । माओवादी केन्द्रको लुम्विनी प्रदेस सदस्य भएकै बेला उनले उक्त पार्टी त्यागेर जनता समाजवादी पार्टी रोजेका छन् । उनी अहिले बाँके निर्वाचन क्षेत्र नं. १ प्रदेस सभा (क) को उम्मेदवार हुन् ।
सुनारी-बघौडाको उज्यालो अभियन्ता
उनी फत्तेपुरमा जन्मिए । अध्ययन नेपालगन्जमा गरे । नेपालगन्जमा बत्तिको झिलिमिलीमा उनी हुर्किए । नेपालगन्जबाट आठ किलोमिटर पूर्वमा रहेको जन्मथलो फत्तेपुरमा बत्तिको पहुँचमा थिएन । उनलाई त्यो चित्त बुझेको थिएन । उनले नेपालगन्ज जस्तै आफ्नो गाउँमा पनि बत्ति बाल्न चाहन्थे । तर, उनको हातमा थिएन त्यो । तै पनि उनले सुनारी र बघौडामा बत्ति बाल्ने योजना बनाएर अगाडी बढे । उनी नै त्यस क्षेत्रमा विजुली बाल्नुपर्छ भन्ने पहिलो पटक अभियान चलाएका थिए ।
उनको उज्यालो अभियानमा नेपाली काँग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काले साथ दिए । कांग्रेसका अर्का नेता ज्ञानु केसीले उनको अभियानमा हातेमालो गरेर अगाडी बढाउन भूमिका निभाएको उनले बताए ।
०६४ सालमा खड्काले सुरुमा विद्युतको पहुँचभन्दा बाहिर रहेका साविकका ९ वटा गाविसलाई समेटेर ग्रामिण सामुदायिक विद्युतीकरण संस्था खोले । त्यसपछि राप्ती– सोनारी–बघौडा ग्रामिण विद्युतीकरण संस्थाको अध्यक्षको जिम्मेवारी फत्तेपुरका अवधराम थारुलाई दिएर उनी संरक्षक बने । विद्युतीकरणका लागि उनले संसद विकास कोष, विभिन्न दातृ निकाय, स्थानीय सामुदायिक बनसँग रकम मागे । र, ३३ केभी विद्युत विस्तारका लागि ०६५ सालमा चार करोड २२ लाख रुपैँया जम्मा गर्न सफल भए ।
०६६ सालमा कोहलपुरबाट धामपुर सव–स्टेशनसम्मको ३३ केभी लाइन विस्तारको लागि ५ करोड १८ लाख रुपैँया सामुदायिक ग्रामिण विद्युतीकरण विभागको खातामा जम्मा गर्न सफल भएका अमरकै पहलमा ०६५ सालमा धामपुर सव–स्टेशन निर्माणका लागि आठ करोडको टेन्डर आह्वान भएको थियो । ‘पहिलो चरणमा बैजापुर–नरैनापुर, दोस्रो चरणमा कालाफाँटा, कटकुइँया, मटेहिया, लक्ष्मणपुर र तेस्रो चरणमा गंगापुर, बिनौना र फत्तेपुरमा एलटिसी लाइन विस्तारका लागि १३ करोड ३८ लाखमा टेण्डर गराउन सफल भयौँ,’ उनले भने ।
विद्युत विस्तारका लागि रकम जम्मा गर्ने अभियानमा लागेकै बेला तराईमा भूमिगत एक पार्टीले उनीसँग चन्दा माग्यो । उनले जनताबाट संकलन गरेको रकम भएकोले चन्दा दिन नसक्ने जवाफ दिए । उनको जवाफमा प्रति जवाफ दिँदै भूमिगत समुहले उनको घरमा बम विस्फोट गराएर क्षति पुर्यायो ।
तै पनि उनी विचलित भएनन् । ०६५ सालमा उनी साविक फत्तेपुर गाविस वडा नं. ७, ८ र ९ मा विजुली बाल्न सफल भए । ५८ लाख रुपैँया लागतमा त्यहाँ पहिलो पटक विजुली बाल्न सफल भए उनी ।
अमरको मेहनत, लगनशीलता र परिश्रमले अहिले साविकका ९ वटा गाविसमा विद्युतिकरण भएको छ । त्यहाँका गाउँ झिलिमिली भएका छन् । उनै अमर खड्का अझ त्यस क्षेत्रको विकास गर्न चाहन्छन् । त्यहाँका जनतालाई सुखी र समृद्ध बनाउन चाहन्छन् । यहि चाहना पुरा गर्न उनी यस पटक प्रदेससभा निर्वाचन क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेका छन् । उनले मतदाताको साथ पाए सधैँ सेवामा समर्पित हुने बाचा समेत गरेका छन् ।