सन्तानेश्वर महादेव मन्दिरमा : मनोरम दृष्यको अवलोकनसँगै भगवानको दर्शन

बाँके, १५ असोज, २०७९ ।


जिल्ला सदरमुकाम नेपालगन्जदेखि २५ किलोमिटर हुलाकी सडक भएर पूर्व गए नरैनापुर गाउँपालिका ५ लालपुर आउँछ । त्यहाँबाट ८ किलोमिटर जंगलको बाटो पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ । नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो ।
चुरे पहाडको चुचुरोमा मन्दिर रहेकोले भगवानको दर्शनसँगै पहाडको मनोरम दृष्य सन्तानेश्वर महादेव मन्दिरको विशेषता हो । मन्दिर परिसरबाट राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको अवलोकनसमेत गर्न सकिन्छ ।
जंगलै जंगलको गोरेटो बाटो भएर जानुपर्ने भएको जंगली जनावरले आक्रमण गर्न सक्ने सम्भावना रहन्छ ।
मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन यहाँ आउने गरेका छन् । त्यसैगरी, दाङ, सुर्खेत, बर्दिया, नेपालगन्ज, कोहलपुर लगायत ठाउँका सर्वसाधारण दर्शनका लागि पुग्ने गरेका छन् । राप्तीसोनारी गाउँपालिका ७ भेलुनियाकी विमला शाहीले एकान्त र शान्त ठाउँ भएकोले दर्शनसँगै घुम्न आनन्द आउने गरेको बताइन् । पहिलो पटक सन्तानेश्वर मन्दिर पुगेकी उनी मनोरम दृष्य देखेर दंग परिन । ‘पहाड चढ्न गाह्रो भए पनि मनोरम दृष्य र चुचुरोमा अवस्थित मन्दिरको दर्शन गर्दा सवै दुख भुलिन्छ,’ उनले भनिन्, ‘यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दिन्छ ।’
मन्दिरका महन्त ९० वर्षीय योगानन्द गिरी (पहाडी बाबा) ले विक्रम संवत् १९३५ मा झण्डा गाडिएको बताए । मटेहियाका यादव थरका व्यक्तिले यहाँ झण्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउने गरेको उनले सुनाए ।
मन्दिर बनेको लामो समय भए पनि विक्रम सम्वत् ०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तीजजस्ता पर्वमा विशेष भीड लाग्ने गर्छ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । ‘यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ,’ पुजारी पहाडी बाबाले भने ।
यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीनवटा मूल फुटेका छन् । ‘सात वर्षको उमेरदेखि म यहीं बस्दै आएको छु । त्यतिबेला मन्दिर खासै चर्चामा थिएन,’ जंगलको बीचमा कुटी बनाएर बसेका बाँके दासले भने, ‘विगत बर्षदेखि मन्दिर दर्शन गर्न आउनेको भीडभाड बढेको छ ।’ उनले जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाउँदा खुसी लागेको बताए ।
सडक नहुँदा मन्दिर ओझेलमा परेको नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । उनले सडक विस्तार भएसँगै पर्यटकको आकर्षण बढेको बताए । ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही खाका तयार पारेका छौं । जति सक्दो आन्तरिक पर्यटक आकर्षण गराउने उद्देश्य छ,’ उनले भने ।
सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो । अहिले सडक बनेपछि मानिस घुम्न आउन थालेको उनले बताए । बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको उनको भनाई छ । मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड अझँै बढ्ने उनले बताए ।

Previous articleई-रिक्साले विस्थापित टाँगा फेरि स्थापित : चल्न थाले नेपालगन्ज-रुपइडिया
Next articleराप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सजगता अपनाउन प्रशासनको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here