बाँके, १४ असोज, २०७९ ।
ई-रिक्साले विस्थापित टाँगा फेरि चल्न थालेका छन् । यात्रुले टाँगामा चढ्न खोजेपछि फेरि चलाउन थालेको चालक बाबु खाँले बताए । उनले पछिल्लो समय नेपालगन्ज-रुपइडिया रुटमा दैनिक १२–१५ वटा टाङ्गा चल्ने गरेको बताए । चार वर्षअघि नेपालगन्जमा ५०–६० वटा टाङ्गा चल्थे ।
ई-रिक्सा आएपछि टाङ्गाप्रतिको आकर्षण घटेको थियो । नेपालगन्ज–रुपइडिया जाने यात्रुको रोजाइमा ई-रिक्सा भएपछि विगत चारदेखि टाङ्गा ब्यवसाय बन्द थियो । ‘पहिले टाङ्गाको सहरको रुपमा नेपालगन्ज चिनिन्थ्यो । ई-रिक्सा भित्रिएपछि नेपालगन्जको पहिचान बनाएको टाङ्गा बन्द भए । माग फेरि बढेपछि संचालनमा ल्याएका छौँ,’ उनले भने, ‘समय–समयके वात है । ई-रिक्सा भन्दा टाङ्गा चढ्नेको संख्या बढ्दो छ ।’

काठ्माडौँ, पोखराबाट आएकाहरु टाङ्गाको मजा लिन चढेर रुपइडिया गएको अर्का टाङ्गा ब्यवसायी बाबु खाँले सम्झिए । उनले नेपालगन्जको परिचय बनाएको टाङ्गालाई फेरि संचालनमा ल्याउन पाउँदा खुसी लागेको वताए । ‘टाङ्गा ब्यवसाय बन्द भएपछि कतिपयले ई-रिक्सा किनेर चलाउँदै छन् । कसैले अर्कै ब्यवसाय अंगालेर जिविका चलाउँदै छन्,’ उनले भने ।
नेपालगन्जका ई-रिक्सालाई भारतीय प्रहरीले रुपइडिया जान प्रतिवन्ध लगाएपछि टाङ्गाको माग बढेको सफिक वेहनाले बताए । किनमेल र भारतबाट फर्किने नेपालीलाई हिडेर जमुनाह आउनुपर्ने भएपछि बाध्यता भएर टाङ्गा चढ्न थालेको उनको भनाई छ । भारतीय सीमावर्ती बजार रुपइडियामा पाइडल रिक्सा भने चल्न दिइएको छ । ‘किनमेल गरेर फर्किने बेला पाइडल रिक्सा प्रयोग गरे महंगो पर्ने र हिडेर आउन गाह्रो भएपछि नेपालीहरु टाङ्गा चढ्न नेपालीहरु बाध्य भएका हुन्,’ सफिकले भने ।

ई-रिक्साले जमुनाहबाट धम्बोझीसम्म सय रुपैँया भाडा लिने गरेका छन् । रुपइडियाबाट जमुनाह आउन थप ४० रुपैँया लाग्छ । टाङ्गाले रुपइडिया–धम्बोझी भाडा ९० रुपैँया लिने गरेको सलमानले बताए । टाङ्गाले एक पटकमा १० जनासम्म बोक्ने गरेको उनको भनाई छ । ई-रिक्सामा थोरै यात्रु अट्ने भएकोले भाडा महंगो पर्न जान्छ । धेरै जनाको समुह भएकाहरु एउटा रिक्सामा नअटाउने भएकोले हामीलाई खोज्छन्,’ उनले भने ।
नेपालगन्ज–इपइडिया रुटमा दैनिक १५-२० वटा रिक्सा चल्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलवहादुर विकले बताए । उनले तिज आसपासबाट टाङ्गा चल्न थालेको बताए ।
