नागरिकता विधेयक रोकेका कारण देश जोगियो : नेमकिपा सचिव सुवाल

बाँके, ९ असोज, २०७९ ।


नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिकता विधेयक रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई जोगाएको बताएका छन् । विदेशी शक्तिको इसारामा पाँच दलिय गठबन्धनले नागरिकता विधेयक ल्याएको बताउँदै राष्ट्रपतिले रोकेका कारण देश दलदलमा फस्नबाट जोगिएको जिकिर गरे ।
उनले विदेशीको इसारामा पाँच दलिय गठबन्धन बनेको बताए । एमसिसि र नागरिकता विधेयक पारित गर्न विदेशीको इसारामा पाँच दलिय गठबन्धन बनेको बताउँदै उनले यसको सवैभन्दा दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको दावी गरे । ‘भारतीय एकाधिकारको योजना अनुसार पाँच दलिय गठबन्धनको जन्म भएको हो,’ उनले भने ।
जन्मको आधारमा नागरिकता पाएका सन्ततीलाई बंशजको नागरिकता दिँदा देशलाई दुरगामी असर पर्ने भएकोले नेपाल मजदुर किसान पार्टीले यसको विरोध गरेको उनको भनाई छ । ‘नागरिकता विधेयक पारित भएको भए अवको १० बर्षपछि नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता महत्वपूर्ण पदमा ट्रम्प, वाइडेनका सन्तती विराजमान हुने थिए । अनि देशको हालत के हुने थियो,’ सचिव सुवालले भने ।
बाबुआमा दुवै बंशजका आधारमा नागरिकता पाएका सन्ततीलाई मात्र बंशजको नागरिकता दिनुपर्ने बताउँदै उनले बैबाहिक अंगिकृत नागरिकता पाउने समय सीमा २० बर्ष हुनुपर्ने उनको भनाई छ । उनले अहिलेको अवस्था सिर्जना हुनुमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मुख्य दोषी भएको धारणा राखे । ‘पाँच बर्षसम्म प्रधानमन्त्री हुन्न भन्ने शेरबहादुर देउवालाई जवरजस्ती प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपाल हो । एमसिसि पारित गर्ने र नागरिकता विधेयक ल्याउन तथा देशलाई भूमरीमा फसाउने मुख्य दोषी पनि उहाँहरु नै हो ।’
उनले माओवादी केन्द्रलाई ‘ट्रोजन हर्ष’ को संज्ञा दिए । भारतीयको सहयोग र इसारामा माओवादीले युद्ध गरेको उनले आरोप लगाए । ‘माओवादी नेपालको उत्पादन होइन । भारतको इसारामा जन्मिएको पार्टी हो,’ उनले भने, ‘प्रचण्ड र बाबुराम भट्टराईको खुवीले भएको होइन, नेपालमा अस्थिरता सिर्जना गर्न भारतले युद्ध गर्न पठाएको थियो ।’
उनले पुञ्जीबादी ब्यवस्थामा संसदमा बहुमत ल्याउँदैमा गणतन्त्र ल्याउन नसकिने बताउँदै विध्वंसबाट मात्र गणतन्त्र ल्याउन सकिने स्पष्ट पारे । ‘एमाले र माओवादीले संसदमा बहुमत ल्याए पनि गणतन्त्र आउने कुनै सम्भावना छैन । गणतन्त्र ल्याउन विध्वंस अनिवार्य छ,’ उनले भने ।
अर्को प्रसंगमा नेमकिपा सचिव सुवालले संसदको आयू सकिएसँगै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग निस्कृय भएको जिकिर गरे । उनले महाअभियोग निस्कृय भइसकेकोले राणालाई काममा फर्किने अधिकार भएको बताए । ‘महाअभियोग निस्कृय भइसकेकोले चोलेन्द्रले प्रधान न्यायाधीकशको दावी गर्नु स्वभाविक हो,’ उनले भने ।
उनले नेमकिपाले सिद्धान्त नमिल्नेसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे । उनले नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी तथा एकीकृत समाजवादी वीच भएको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिए ।

Previous articleनेपाल राष्ट्र बैंक र नेपालगन्ज भन्सार विरुद्ध किन आन्दोलित भए ब्यापारी ?
Next articleआफ्नै भवन बनाउँदै बास नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here