बाँके, ६ असोज, २०७९ ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा दसैँ लक्षित सुपथ मूल्य पसल संचालनमा नआउँदा सर्वसाधारण मर्कामा परेका छन् । दसैँलाई लक्षित गरि सरकारले देशका मुख्य सहरमा १ असोजदेखि सुपथ मूल्य पसल संचालनमा ल्याउने निर्णय गरे पनि नेपालगन्ज र कोहलपुरमा संचालन नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।
उनले सुपथ मूल्य पसल संचालनमा ल्याउन छलफल भइरहेको बताए । उनले सरकारले तोकेको समयमा संचालनमा ल्याउन नसकिएको बताउँदै किनमेल गर्ने समय अझैँ भइनसकेको बताए । ‘एक–दुई दिनभित्र संचालनमा आउँछ । तयारी अन्तिममा पुगेको छ,’ उनले भने ।
सुपथ मूल्य पसलमा दैनिक उपभोग्यका सामग्री राखिने भएको छ । उनले बजार मूल्य भन्दा सस्तोमा सामान विक्रि गर्न ब्यापारीहरुसँग छलफल भइरहेको बताए । ‘बजारभन्दा सस्तोमा सामान दिन ब्यापारी र संस्थानसँग नियमित छलफलमा छौँ,’ केसीले भने ।
उनले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले दाल, खाने तेल र चामल विक्रिका लागि राख्ने बताउँदै साल्ट्र ट्रेडिङले सस्तो दरमा नुन, चिनी विक्रि गर्ने ब्यवस्था मिलाएको बताए ।