नेपाल राष्ट्र बैंक र नेपालगन्ज भन्सार विरुद्ध किन आन्दोलित भए ब्यापारी ?

बाँके, ६ असोज, २०७९ ।


नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका हुन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै चरणबद्ध आन्दोलन गर्न परेको जनाएको छ । ‘अवैध सामान ओसार पसार नियन्त्रण र बैैैंकको चर्को ब्याजदर विरुद्ध संघ आन्दोलित भएको छ,’ अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने ।
संघका प्रवक्ता टंक धामीका अनुसार चर्को ब्याजदर र २०–२५ प्रतिशत लगानी गर्ने नेपाल राष्ट्र बैंकको नीतिका विरुद्ध ७ असोजमा नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।
त्यसैगरी, अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेल गर्न प्रोत्साहन गर्न ८ असोजमा नेपालगन्ज भन्सार कार्यालय अगाडी दवावमुलक तथा सचेतनामुलक कार्यक्रम गर्ने तालिका रहेको प्रवक्ता धामीले जानकारी दिए । ‘माग सम्बोधन नभए विरोधका थप कार्यक्रम अगाडी बढाइने छ,’ उनले भने ।

चर्को ब्याजदर र अवैध सामानले ब्यवसाय धरासायी : संघ
पछिल्लो समय नेपालगन्जको ब्यापार ८० प्रतिशतले घटेको अध्यक्ष अन्सुरीले बताए । बैंकले कारोवारको २०–२५ प्रतिशत लगानी गर्दा नेपालगन्जको ब्यापार, ब्यवसाय धरासायी भएको उनले जिकिर गरे । ब्यापार, ब्यवसाय नभएर मर्कामा परेको बेला नेपाल राष्ट्र बैंकले लगानी गरेको छैन नै ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ । राष्ट्र बैंकको नीतिका कारण ब्यापारीलाई मर्नु न बाच्नु बनाएको छ,’ उनले भने ।
बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायीलाई हैरान पारेकै बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव चिरन्जीवि ओलीले बताए । ‘घरायसी सामान ल्याउने नाममा यहाँ दैनिक करोडौँको सामान भित्रिदै छ । यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको ब्यापार, ब्यवसायलाई प्रत्यक्ष असर पारेको छ,’ उनले भने ।
उनले घरायसी सामान ल्याउन छुट दिएका कारण नेपालगन्ज भन्सारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताए । ‘एक सय रुपैँयाभन्दा माथिको सामानको भन्सार शुल्क तिर्नुपर्ने राज्यको नीति छ, तर नेपालगन्ज भन्सार कार्यालयले घरायसी प्रयोगको नाममा १०–२० हजार रुपैँया बराबरका सामान पनि शुल्क नलिएर छोड्ने गरेको छ,’ महासचिव ओलीले दावी गरे ।
संघले अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायसँग माग गरेको छ । संघका प्रवक्ता टंक धामीले राज्यले भारतबाट हुने अवैध सामान नियन्त्रण गर्न नसक्दा तस्करी मौलाएको बताए । उनले भने, ‘भारतबाट खुलेआम तस्करी भइरहेको छ, तर नाकामा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारी टुलुटुलु हेरेर बसिरहेका छन् । यसले तस्करलाई प्रोत्साहन मिलेको छ । नेपालगन्जका ब्यापारीले ब्यापार ब्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’
संघले मुल बाटोबाट सामान ल्याउने बातावरण मिलाउन आग्रह गरेको छ । संघका अध्यक्ष मन्सुरीले अवैध सामान ओसार पसार हुने मुहान रोकिनु पर्ने धारणा राखे । ‘अवैध सामान नियन्त्रण गर्न नाकामा बसेका सुरक्षाकर्मी र भन्सार कर्मचारी नै तस्करसँग मिलेको आशंका छ,’ उनले भने ।

Previous articleचाडपर्व लक्षित बाँके प्रहरीको अभियान : जमुनाह नाकामा नागरिक सहायता कक्ष स्थापना
Next articleनागरिकता विधेयक रोकेका कारण देश जोगियो : नेमकिपा सचिव सुवाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here