दसैँ मनाउन फर्किने नेपालीको जमुनाह नाकामा घुइँचो (फोटो फिचर)

बाँके, ५ असोज, २०७९ ।

दसैँ मनाउन फर्किने नेपालीको नेपालगन्ज स्थित जमुनाह नाकामा घुइँचो लाग्ने गरेको छ । सोह्र श्राद्ध सुरु भएदेखि कामका लागि भारत गएका नेपाली फर्किने क्रम बढेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (बरिष्ठ सई) माधवप्रसाद रिजालले बताए ।
उनका अनुसार पछिल्लो समय दैनिक कम्तिमा चार हजार नेपाली दसैँ मनाउन घर फर्किने गरेका छन् । उनले विहानको समयमा नाकामा ठूलो भीड लाग्ने गरेको बताए । ‘दसैँ मनाउन आउने नेपालीको एका विहानै नाकामा थामिनसक्नु भीड लाग्छ । कोरोना र सामानको जाँच गरेर पठाउनुपर्ने भएकोले हामीलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भने ।
विगतका बर्षमा दसैँ मनाउन आउन नपाएकाहरु यसपाली छिट्टै फर्किएका छन् । कोरोनाका कारण दसैँ मनाउन घर आउन नपाएकोले यसपाली छिट्टै फर्किएको बारेकोट गाउँपालिका ५ नायकबाडा, जाजरकोटका बिनोद चलाउनेले बताए । ‘कोरोनाका कारण दसैँ मनाउन आउन नपाएको दुई बर्ष भयो । यसपाली मजाले दसैँ मनाउने सोँचका साथ छिट्टै घर फर्कियौँ,’ पत्नी र छोराछोरीसँगै जमुनाह नाकामा भेटिएका विनोदले भने । उनी विगत १० बर्षदेखि स–परिवार भारतको सिम्ला स्थित स्याउ बगानमा काम गर्दै आएका छन् ।


दसैँ मनाउन आउनेमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेसको दाङ, रोल्पा, प्यूठान तथा रुकुम पूर्वका छन् । स–परिवार फर्किएका उनीहरुले यस बर्ष स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको बताउँछन् । गंगादेवी गाउँपालिका ४ पाखापानी रोल्पाका मोहन घर्तीले कोरोना संक्रमण घटेकोले यस बर्ष दसैँ मनाउन फर्किने नेपालीको संख्या अधिक भएको बताए ।
उनले चण्डीगढमा रहेका अधिकांश नेपाली दसैँ मनाउन आउने क्रममा रहेको जानकारी दिए । ‘अघिल्ला बर्षभन्दा यस बर्ष नेपाल आउने नेपालीको संख्या तेब्बर छ जस्तो लाग्छ,’ उनले अनुमान लगाए ।


गत बर्षको दसैँमा घर नआएका सिम्ता गाउँपालिका ४ का नन्दाराम विक पनि दसैँ मनाउन फर्किएका छन् । दसैँ लगतै कर्मथलो रामपुर कुल्लु फर्किने गरि दसैँ मनाउन आएको उनले बताए । गत बर्ष कोरोनाका कारण दसैँ मनाउन नआएको उनले स्पष्ट पारे । ‘कोरोनाका बेला दसैँमा रमाईलो हुन्न होला भन्ने लागेर गत बर्ष घर आएन,’ उनले भने, ‘यसपाली लामो विदा लिएर आएको छु । तिहार मनाएर फर्किने योजना छ ।’
आफ्ना साथीसँगीसँगै बबई गाउँपालिका १, दाङका धनबहादुर केसी पनि दसैँ मनाउन फर्किएका छन् । स्याउ टिप्न भारतको सिम्ला पहाड गएका उनीहरु दसैँ, तिहार मनाउन फर्किएका हुन् । दसैँ नजिकिएपछि परदेशमा बस्न मनले मानेन । छिटोछिटो गरि घर फर्कियौँ,’ उनले भने ।

Previous articleनेपालगन्जमा दुर्गा मूर्तिको माग आधा घट्यो : विक्रि नभएपछि मूर्तिकार चिन्तित (फोटोहरु)
Next articleनेपालगन्जमा अझैँ खुलेन चाडपर्व लक्षित सुपथ मूल्य पसल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here