नेपालगन्जमा दुर्गा मूर्तिको माग आधा घट्यो : विक्रि नभएपछि मूर्तिकार चिन्तित (फोटोहरु)

बाँके, ४ असोज, २०७९ ।


तयार पारेको दुर्गा मूर्ति विक्रि नभएपछि नेपालगन्ज उपमहानगरपालिका ८ सदरलाइनका विनय मूर्तिकार निराश भएका छन् । विगत दुई बर्षको दसैँमा राम्रो आम्दानी गरे पनि यसपाली विक्रि नभएको उनले बताए । तयार पारेको मूर्ति विक्रि नभएकोले चिन्ता लागेको उनले बताए ।
उनले अघिल्लो दुई बर्षको दसैँमा ५०–५० सेट दुर्गा मूर्ती विक्रि गरे । यस बर्ष ३० सेट समेत विक्रि हुने छाँट नदेखिएको उनले बताए । अहिलेसम्म २३ सेटको मात्र अर्डर आएको उनले बताए । ‘विगतका दुई बर्ष कोरोनाका कारण लकडाउन भई नेपाल–भारत सीमानाका बन्द थियो । दुर्गा मुर्ती खरिदका लागि भारतीय सीमा बजार रुपइडिहा जान नपाउँदा राम्रो विक्रि भयो,’ उनले भने, ‘अहिलेसम्म २३ सेट अर्डर छ । दुई हप्तादेखि अर्डर नआएकोले बाँकी मूर्ति विक्रि हुनेमा आशंका छ ।’


विनय जस्तै नेपालगन्ज उपमहानगरपालिका १० सरस्वती स्कुल टोलका अंकित मिश्र पनि निराश भएका छन् । नेपालगन्जको त्रिवेणी मोडमा जमिन भाडा लिएर दसैँका लागि दुर्गा मूर्ति बनाउँदै आएका उनले पनि नेपालीहरु भारतीय बजारबाट मूर्ति ल्याउन थालेपछि हरेश खाएको बताए ।


विगत दुई बर्ष राम्रो माग भए पनि यस बर्ष आधा घटेको उनले सुनाए । उनले पनि ३० सेट मूर्ति तयार पार्दैछन् । तर, अहिलेसम्म २० वटामात्र विक्रि भएको छ । विगत एक हप्तादेखि अर्डर आउन छाडेको उनले बताए । ‘लकडाउनका बेला हातपाउ जोड्नेहरु यो बर्ष दुर्गा मूर्ति किन्न भारतीय बजार जाँदा उदेक लागेको छ । समस्याका बेला हामीले सहयोग गर्यौँ । अहिले नाका खुलेपछि भारततिर धाउने नेपाल र नेपालीको विडम्बना मान्नु पर्छ,’ आक्राशित हुँदै उनले भने, ‘नेपालीले नेपाली कलाकारलाई प्रोत्साहन गर्ने ठाउँमा हतोत्साहित गराउँदैछन् । अव आगामी बर्ष भारतमा गएर मूर्ति बनाउँछु । अनि यहाँका ग्राहकलाई सवक सिकाउँछु । त्यतिबेला ठोकेर दाम लिन्छु । त्यसपछि बल्ल थाह पाउनेछन् ।’


नेपालगन्ज र रुपइडिहाका मूर्तिको मुल्य बराबर
भारतबाट दुर्गा मूर्ति ल्याउन नेपालगन्ज भन्सार कार्यालयले छुट दिँदै आएको छ । तर, नेपालगन्जका मूर्तिकारले मुर्ती बनाउन प्रयोग हुने सामग्रीमा भन्सारले कर लिँदै आएको छ । जसका कारण भारतको भन्दा नेपालमा थोरै महंगो हुने गरेको विनयले बताए । ‘भारतको भन्दा यहाँको मूर्ति थोरै महंगो हुन्छ, तर ल्याउने भाडा र समयको हिसाव जोड्ने हो भने यहाँ र त्यहाँको मुल्य बराबर हुन आउँछ,’ उनले भने, ‘अधिकांश नेपालीहरु भारतीय बजार जान्छन् खै किन हो ।’


मूर्ति आयतमा कडाई गर्न माग
नेपाली मूर्र्तिकारले भारतमा निर्मित मूर्ति ल्याउने प्रबृत्तीका कारण आफूहरुको पेशा संकटमा परेको भन्दै ल्याउन कडाई गर्न सरकारसँग माग गरेका छन् । नेपालमा नपाएमात्र भारतबाट ल्याउन दिनुपर्ने उनीहरुको भनाई छ ।
मुर्ती बनाउन प्रयोग हुने बस्तु आयात गर्दा भन्सार शुल्क लिए जस्तै मूर्तिको पनि भन्सार शुल्क लिन मूर्तिकार अंकितले माग गरे । ‘मूर्ति बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क लिइन्छ भने मूर्ति ल्याउँदा पनि शुल्क लिनु पर्यो नी,’ उनले भने ।
उनले स्वदेश रुपैँया विदेशिन नदिन मूर्ति आयातमा कडाई गर्नुपर्ने बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन र विदेशी सामानलाई निरुत्साहित गर्न सरकारले बेलैमा कदम चाल्नु पर्छ । नत्र नेपाली उत्पादन घट्न गई विदेशी उत्पादनमा निर्भर हुनुपर्ने दिन नआउला भन्न सकिन्न ।’

Previous articleविकृति न्यूनिकरण गर्न दंगीशरणमा ड्रिम्स यूवा क्लव गठन, अध्यक्षमा अविसेक चयन
Next articleदसैँ मनाउन फर्किने नेपालीको जमुनाह नाकामा घुइँचो (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here