बच्चा चोरको हल्लाले अभिभावकलाई तनाव, हल्लामात्र हो : बाँके प्रहरी

बाँके, २८ भाद्र, २०७९ ।


बच्चा चोरी गर्ने समूह भारतबाट आएको हल्ला फैलिएपछि सीमावर्ती क्षेत्रका अभिभावक त्रसित छन् । बच्चा चोरी गरेर भारत लैजाने गरेको हल्ला पछि डर लागेको नेपालगन्ज उपमहानगरपालिका १० की बन्दना श्रेष्ठले बताइन् । हल्ला फैलिएपछि बच्चाहरुलाई एक्लै एताउता जान नदिएको उनले बताइन् । ‘बच्चा चोरी गरेर किड्नी झिक्ने समुह भारतबाट आएको छ भन्ने बजार भरी हल्ला छ,’ उनले भनिन् ।
तराईका जिल्लामा बच्चा चोरी गर्ने गिरोह आएको हल्ला पैmलिएको नेपालगन्ज उपमहानगरपालिका १२, कोरियनपुरकी गीता रेग्मीले पनि बताइन् । उनले बजारमा हल्ला फैलिएपछि सजगता अपनाएको बताइन् । ‘जताततै हल्ला फैलिएपछि बच्चालाई एक्लै छोड्न डर लाग्छ,’ उनले भनिन् ।
एक कान, दुई कान मैदान भने झैँ बच्चा चोरी गर्ने गिरोह आएको हल्ला सुनेपछि आफ्ना बालबालिकालाई सुरक्षित साथ विद्यालयसम्म पठाउन र विद्यालयबाट घरसम्म लैजान नेपालगन्ज उपमहानगरपालिका १० स्थित न्यू ग्यालेक्सी स्कुलले सूचना नै प्रकाशित गरेको छ ।
बालबालिका चोरी गर्न भारतबाट आएको गिरोह सक्रिय रहेको जानकारीमा आएको भन्दै उक्त विद्यालयले अभिभावकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
बालबालिका चोरी गर्ने गिरोह बजारमा आएको सूचनाको आधारमा अभिभावकलाई सचेत गराएको प्रिन्सिपल सन्दिप गुरुङले बताए । उनले विद्यालयमा अध्ययनरत बालबालिका चोरको फन्दामा पर्ने सम्भावनालाई मध्यनजर गरि सूचना जारी गरेको बताए । ‘बालबालिका चोरी गर्ने गिरोह भारतबाट आएको भन्ने सूचना अभिभावकबाट पाएको आधारमा सचेत गराएका हौँ,’ उनले भने, ‘हराएर पछुताउनु भन्दा पहिले नै सावधानी अपनाउन उचित लागेर सूचना जारी गर्यौँ ।’
बच्चा चोरी गर्ने गिरोह आएको हल्लामात्र हो ः बाँके प्रहरी
तर, बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले बालबालिका चोरी गर्ने गिरोहको बारेमा कुनै सूचना नआएको बताए । उनले अहिलेसम्म बालबालिका चोरी भएको उजुरी प्रहरीमा नआएको बताए । ‘बच्चा चोरी गर्ने गिरोह आएको हल्ला सुने पनि चोरी भएको भनि उजुरी र जानकारी आएको छैन,’ उनले भने, ‘यस विषयमा बाँके प्रहरी सजग र सचेत छ ।’
एक बर्षमा १०८ बालबालिका खोजतलासका लागि प्रहरीमा निवेदन
गत आर्थिक बर्ष ०७८–०८० मा ७६ बालिका र ३२ बालक गरि बाँकेमा एक सय आठ बालबालिका हराएको डिएसपी घर्तीले बताए । हराएको भनि खोजतलासका लागि निवेदन दिएको मध्ये ५८ जना बालिका र २९ जना बालक फेला परेको उनले बताए । ‘खोजतलासका लागि निवेदन दिएका मध्ये अरु पनि फेला परेको हुनुपर्छ । फेला परेपछि प्रहरीलाई जानकारी नगराएको हाम्रो ठम्याई छ,’ उनले भने ।
बाल हेल्पलाइन नेपालगन्जका प्रमुख शिद्धराज पनेरुले पनि अहिलेसम्म बच्चा चोरी भएको खवर नआएको बताए । उनले बच्चा चोरीको हल्ला सुनेपनि खोजतलासका लागि निवेदन नआएको बताए ।

Previous articleबैश्यले पाए हराएको रकम र मोवाइल फिर्ता
Next articleनरैनापुरमा खराल र नेपालगन्जमा रिजाल प्रमुख प्रशासकीय अधिकृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here