प्रविधि प्रयोगमा नरैनापुर अगाडी

बाँके, २८ भाद्र, २०७९ ।


बाँकेको नरैनापुर गाउँपालिकालाई जिल्लाको सवैभन्दा पछाडी परेको भनिन्छ, तर प्रविधि (टेक्नोलोजी) उपयोगमा अन्य पालिकाभन्दा अगाडी देखिएको छ । गाउँपालिकाको कार्यालयमा डिजिटल बोर्ड राखेको गाउँपालिकाले बैंकिङ कारोवार पनि विद्युतिय (डिजिटल) बनाएको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।
उनले सरकारको नीति अनुसार बैंकिङ कारोवारलाई डिजिटल बनाएको बताए । बैंकिङ कारोवार डिजिटल बनाएपछि चेक काट्ने झन्झटबाट गाउँपालिका मुक्त भएको बताए । ‘विद्युतिय कारोवारले सेवाग्राहीलाई चेक लिन आउने र चेक क्लियरेन्सका लागि बैंक धाउनु पर्ने झन्झट हटेको छ,’ लेखापाल प्रकाश अधिकारीले भने, ‘विद्युतिय कारोवारले समयको बचत भएको छ नै कोरोना लगायत अन्य संक्रमणको जोखिम कम गर्न मद्दत गरेको छ ।’
नरैनापुर गाउँपालिकाले ब्यक्तिगत घटना दर्तालाई पनि विद्युतिय बनाएको छ । अनलाइन सुविधा भएको ठाउँबाट ब्यक्तिगत घटना दर्ता गर्न सकिने ब्यवस्था मिलाइएको लेखा अधिकृत भरत बस्नेतले बताए । उनले अनलाइनबाट भुक्तानी गर्ने ब्यवस्था सँगै दर्ता, चलानी पनि डिजिटल बनाइएको जानकारी दिए । ‘टेण्डर लगायत सामग्री खरिदलाई पनि विद्युतिय प्रणालीबाट गर्ने ब्यवस्था मिलाइएको छ,’ उनले भने ।
सरकारले डिजिटल कारोवारलाई प्रोत्साहन गरेसँगै हरेक वर्षको मौद्रिक नीतिमा डिजिटल बैंकिङ्ग सम्बन्धी विभिन्न व्यवस्था हुँदै आएको छ । राष्ट्र बैंकले डिजिटल बैंकिङलाई अभियानका रुपमा अगाडि बढाएकाले गाउँपालिकाले पनि अवलम्बन गरेको गाउँपालिका प्रमुख सैयद इस्तियाक अहमद शाहले बताए । बैंकिङ कारोवार डिजिटल बनाएपछि सेवाग्राहीलाई सहज भएको उनको भनाई छ । ‘अहिले परीक्षणकालमा छौँ । यसलाई थप सुदृढ बनाउँदै लैजाने गाउँपालिकाको योजना छ,’ उनले भने ।
उनले गाउँपालिकालाई पेपरलेस बनाउने योजना भएको बताए । गाउँपालिका सवै वडा कार्यालय र विषयगत शाखामा इन्टरनेटको ब्यवस्था भइसकेको बताउँदै उनले चिट्ठीपत्र समेत डिजिटल गर्न लागेको योजना सुनाए । चिट्ठी पत्र छाप्ने कागजको बचत गरि खर्च कटौती गर्न विद्युतिय गर्न लागेको उनको भनाई छ ।
भर्खरै प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका मणिराम खरालले विद्युतिय कारोवारलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गर्न र चेक लिने तथा बैंकमा गएर जम्मा गर्ने झन्झटबाट मक्ति दिन गाउँपालिकाले विद्युतिय बैंकिङ सेवाका कमिकमजोरी खोजेर थप सहज बनाइने प्रतिवद्धता जनाएका छन् ।

Previous articleनरैनापुरमा खराल र नेपालगन्जमा रिजाल प्रमुख प्रशासकीय अधिकृत
Next articleनेपालगन्ज–गुलरिया सडकको मन्त्री राईले आज शिलान्यास गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here