क्षणभरमा तलाक पाएका महिला सम्पत्तीबाट बञ्चित

पतिले तलाक दिएपछि माइती घरमा बसेका बाँकेका तलाकी महिला ।

बाँके, २५ भाद्र, २०७९ ।


आलम जहाँ (३२) नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित माइती घरमा थिइन् । भारत बाबागन्जमा रहेका पतिले दिनहुँ कुटपिट गर्न थालेपछि उनी माइतीको शरण परिन् । किनमेलका लागि उनकी मावली घरकी हजुर आमा सिमावर्ती भारतीय बजार रुपइडिहा गइन् । त्यहाँ आलमको पतिसँग उनको जम्का भेट भयो । भेट्ने वित्तिकै आलमका पतिले हजुर आमासमक्ष तीन पटक तलाक–तलाक–तलाक भन्दै पत्नी आलमसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरे । त्यतिकैमा उनको सम्बन्ध विच्छेदले सामाजिक मान्यता पाइहाल्यो । ‘तलाक दिएको मैले आफ्नो कानले सुनेन, तर तलाक दिएको केहि दिनपछि उर्दुमा लेखेर पठाएको तलाक पत्र मेरो हातमा पर्यो,’ आलमले भनिन्, ‘तलाक पत्रमा के लेखेको छ मलाई थाह भएन ।’
नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरकी रेश्मा राईको काखमा २–३ महिनाका छोरा थिए । उनको छोरा अहिले १४ बर्षका भए । सोही ठाउँ निवासी उनका पतिले पत्नी मन नपरेको भन्दै तलाक (सम्बन्ध विच्छेद) दिए । उनी पनि त्यतिबेला माइतीमै थिइन् । तलाक दिएको उनले पत्तो पाइनन् । माइतीमा तलाक पत्र आएपछि मात्र पतिले तलाक दिएको पत्तो पाएको उनले बताइन् । ‘गाउँको वीचमा एउटा इमिलीको रुख छ । बेलुकीको समय थियो । त्यहि रुखमा शितल खान जम्मा भएका सर्वसाधारणका अगाडी पतिले तीन पटक तलाक भनेपछि हाम्रो सम्बन्ध विच्छेदले सामाजिक मान्यता पायो,’ उनले भनिन् ।
बाबु–छोराको सामान्य विवादमा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरकी प्रविण अन्सारीको पतिले तलाक दिए । सासु उपचारका लागि भारतको बहराइच गएकी थिइन् । त्यहिबेला प्रविण पनि विरामी भइन् । उनले खाना पकाउन सकिनन् । ‘बुहारीले खाना नबनाएको भन्दै ससुराले मेरो पतिलाई गाली गर्नुभयो । बाबु–छोरा वीच हात हालाहालको अवस्था भयो । त्यतिकैमा मेरो पतिले मलाई तलाक दिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि म दुईटा छोरा बोकेर माइतीको शरण परेँ ।’
रेश्माले अंशका लागि अदालतमा मुद्धा दायर गरेकी छन् । सम्बन्ध विच्छेद भएको तीन बर्षपछि उनका पतिको मृत्यू भएको उनले बताइन् । पतिको मृत्यूपछि उनले तत्कालिन जयसपुर गाविस सचिवको सहयोगमा मृत्यू दर्ता गराइन् । र, दुई छोराको जन्मदर्ता गराउन पनि सफल भइन् । ‘सासुससुराले मृत्यू र जन्मदर्ता गराउन मान्नु भएको थिएन । तत्कालिन गाविस सचिवले सिडिओ कार्यालयमा झिकाउन लगाउनु भयो । त्यसपछि छोराहरुको जन्मदर्ता र मेरो पतिको मृत्यू दर्ता गर्न सहमत हुनुभयो । अहिले अंश मुद्धा चलिरहेको छ ।’
रेश्मा राईका पतिले १४ बर्षपछि विवाह दर्ता गर्न मानेका छन् । वडा अध्यक्षको पहलमा गत जेठ महिनामा विवाह दर्ता भएको उनले बताइन् । ‘गाउँमै सहमति गर्ने शर्तमा नवनिर्वाचित वडा अध्यक्षले मेरो पतिलाई विवाह दर्ता गर्न सहमत गराउनु भयो,’ उनले भनिन्, ‘विवाह दर्ता लगत्तै गाउँमा मिलापत्र गर्ने कोशिस गरेका थिए मैले मानिन् ।’
तर, आलम जहाँको अवस्था रेश्मा र प्रविणको जस्तो छैन । उनले अहिलेसम्म विवाह दर्ता गराउन सकेकी छैनन् । भारतमा विवाह भएकोले उनले विवाह दर्ता र सम्पत्तीको लागि दावी गर्न सकेनन् । विवाहमा दिएको भाँडावर्तन र फर्निचर फिर्ता लिए पनि अरु केहि नपाएको उनले बताइन् । ‘तलाक दिएको पत्र पाएपछि मैले कुनै चासो राखेन । दाइजोमा दिएको सामान पनि तोड्फोड गरेर फिर्ता दिए,’ उनले भनिन् ।
बाँकेमा तीन सय २४ जना तलाकी महिलाको तथ्यांक छ । यो तथ्यांक एक बर्ष पहिलेको भएको महिला अधिकार मंचकी अध्यक्ष रुवी खानले बताइन् । हरेक बर्ष २०–२५ जना महिला तलाकको शिकार हुने गरेको उनले बताइन् ।
तलाक पाएका महिलाहरुको सामाजिक तथा आर्थिक अवस्था नाजुक रहेको उनको भनाई छ । ‘तलाकी महिलाहरु सम्पत्तीबाट बञ्चित छन् नै सामाजिक रुपमा पनि बहिष्करणमा पर्दै आएका छन्,’ उनले भनिन् ।
तलाकी महिलाका लागि राज्यले छुट्टै ब्यवस्था गर्नुपर्ने उनले बताइन् । एकल महिला सरह सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्न सके तलाकी महिलालाई ठूलो राहत पुग्ने उनको भनाई छ । ‘तलाकी महिला पनि एक महिला सरह हुन् । ति समुहका महिलालाई पनि एकल महिला सरह सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्न सकिए उनीहरुको जिवनयापनमा सहयोग पुग्ने थियो,’ उनले भनिन् ।

Previous articleबाँकेका ११ जनामा डेंगु पुष्टि, भेरीमा उपचाररत दुई जनाको मृत्यू
Next articleराप्रपाका केन्द्रिय प्रशिक्षण विभाग सदस्य शाहले गरे पार्टी परित्याग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here