बाँकेका ११ जनामा डेंगु पुष्टि, भेरीमा उपचाररत दुई जनाको मृत्यू

भेरी अस्पतालमा उपचाररत डेंगुरोगका विरामीको अवस्था बुझ्दै बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे ।

बाँके, २४ भाद्र, २०७९ ।


बाँकेमा पनि डेंगु संक्रमणको ग्राफ उकालो लागेको छ । बाँकेका विभिन्न पालिकाका ११ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।
उनले सवैभन्दा धेरै नेपालगन्जका भएको बताइन् । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका चार र बैजनाथ गाउँपालिकाका एक जना गरि ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यू भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले पुष्टि गरेका छन् । मृत्यू हुनेमा बर्दिया र कैलालीका एक–एक जना भएको उनले बताए । उनले बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यू भएको जानकारी दिए ।
उनीहरुलाई १४ र १९ भाद्रमा उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको बुधबार एकै दिन मृत्यु भएको अस्पतालले जनाएको छ । ‘ज्वरो र टाउको दुखेमा चिकित्सकको सल्लाह विना सिटामोल खाने र सिकिस्त भएपछि मात्र उपचारका लागि अस्पताल ल्याउने प्रबृत्तीले उपचारको क्रममा विरामीको ज्यान जाने गरेको छ,’ उनले भने, ‘ज्वरो आउने र टाउको दुख्ने वित्तिकै चिकित्सकसँग सल्लाह लिए मृत्यूबाट जोगाउन सकिने सम्भावना रहन्छ ।’
नेपालगन्ज लगायतका पालिकामा डेंगुको संक्रमण बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलमा भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख बरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अहिलेको मौसममा डेंगुको जोखिम बढ्नु स्वभाविक भएको बताए ।
उनले डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्ने र झुल लगाएर सुत्नुपर्ने सुझाव दिए । डेंगु रोग चार प्रकारका भएको बताउँदै उपकरण अभावमा डेंगुको पहिचान गर्न नसकिएको बताए । ‘डेंगु परीक्षण गर्ने उपकरण काठ्माडौँको टेकु बाहेक अन्य अस्पतालमा छैन,’ उनले भने ।
डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम सर्वसाधारणमा सचेतना जगाउने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन गौतमले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले टोल–टोलमा गएर लामखुट्टे नष्ट गर्ने अभियान थालेको बताए । उनले स्वास्थ्यकर्मी र नगर प्रहरीलाई सचेतना अभियानमा परिचालन गरिने स्पष्ट पारे ।

Previous articleबाँकेका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् दरवन्दीका चिकित्सक
Next articleक्षणभरमा तलाक पाएका महिला सम्पत्तीबाट बञ्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here