बाँकेका तीनवटै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् दरवन्दीका चिकित्सक

नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र ।

बाँके, २४ भाद्र, २०७९ ।


बाँकेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरवन्दीका (एमविविएस) चिकित्सक नहुँदा करारका चिकित्सकले सेवा दिँदै आएका छन् । नरैनापुर गाउँपालिका स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरवन्दीका चिकित्सक काममा नआउँदा करारका चिकित्सकले सेवा दिँदै आएको स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साहले बताए । उनले दरवन्दीका चिकित्सक सरुवा भएर गएपछि अर्का चिकित्सक नआएको बताए । ‘दरवन्दीका चिकित्सक नआएपछि सोही ठाउँमा करारका चिकित्सक राखेका छौँ,’ उनले भने ।
त्यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा पनि दरवन्दीका चिकित्सक अध्ययन विदामा गएपछि अन्य चिकित्सक नआएको बैजनाथ गाउँपालिकाले जनाएको छ । करारका चिकित्सकबाट सेवा दिँदै आएको बताए । ‘दरवन्दीका चिकित्सक आउन मान्दैनन् । स्वास्थ्य मन्त्रालय धाउँदा पनि सुनुवाई हुँदैन । गाउँमा चिकित्सक ल्याउन पहाड उचाले सरह छ,’ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले भने ।
खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि दरवन्दीका चिकित्सक छैनन् । स्टाफ नर्स, एएनएम र एचएले स्वास्थ्य सेवा दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए । उनले भने, ‘चिकित्सक पठाइदिनु पर्यो भनेर धेरै पटक ताकेता गर्यौँ, तर हाम्रो सुनुवाई कसैले गर्दैन । स्टाफ नर्स, एएनएम र एचएले स्वास्थ्य सेवा दिने बाहेक हामीसँग कुनै उपाय छैन,’ उनले भने ।

Previous articleवडा दसैँका बेला पश्चिम नेपालको थारु समुदायमा नाचिने सख्या पैँया (हेर्नुस भिडियो )
Next articleबाँकेका ११ जनामा डेंगु पुष्टि, भेरीमा उपचाररत दुई जनाको मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here