शहरी विकास मन्त्री चौधरीले गरे सिकलसेल अस्पताल भवनको शिलान्याश

बाँके, २३ भाद्र, २०७९ ।


जानकी गाउँपालिका ३ नहरपुर्वास्थित निर्माण हुन लागेको सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शहरी विकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका वीच शिलान्याश गरेका छन् । शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिकलसेल एनिमिया र थाल्सेमिया थारु समुदायका मात्र समस्या नभएको बताए । उनले सिकलसेल अधिकांश थारु समुदायमा देखिए पनि अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको बताए ।
भवनको शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सिकलसेल अस्पताललाई मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रुपमा विकास गरिनु पर्ने धारणा राखे । ‘अहिले थारु समुदायमा मात्र सिकलसेल देखिएको छ । सिकलिङ गर्ने हो भने अन्य समुदायमा पनि देखिन सक्छ,’ उनले भने, ‘यो अस्पताललाई सिकलसेलको उपचार गर्ने अस्पतालको रुपमा मात्र विकास गर्न हुँदैन । सिकलसेलका विरामीलाई विशेष सेवा दिए पनि अन्य रोगको समेत उपचार गर्ने थलोको रुपमा विकास गर्न जरुरी छ ।’


उनले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘भवन निर्माण गर्ने ठूलो कुरा होइन । यसलाई दीर्घकालिन रुपमा संचालन गर्ने महत्वपूर्ण हो । भवन निर्माण मेरो मन्त्रालयले गर्ने छ । अन्य ब्यवस्थापन कसरी गर्ने हो त्यसको ब्यवस्था तपाईहरुले मिलाउनु होला ।’
उनले थारु समुदायका लागि सिकलसेल अस्पताल महत्वपूर्ण भएको बताउँदै यसको दायित्व सरकारले लिनुपर्ने जिकिर गरे । ‘सिकलसेल एउटा समुदाय विशेषको मात्र समस्या होइन । यो अस्पतालको जवाफदेहिता सरकारले बहन गर्नु पर्छ,’ उनले भने ।
उनले एकल प्रयासमा कुनै पनि काम सफल नहुने भएकोले सिकलसेल अस्पताल निर्माण तथा संचालन गर्न सहकार्यको आवश्यकता औँल्याए । उनले एउटा दलको प्रयासले मात्र देश विकास सम्भव नभएको पाँच दलिय र सात दलिय गठबन्धनको अवधारणा आएको बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन वीचको सहकार्य र एकताले मात्र विकास सम्भव छ,’ मन्त्री चौधरीले भने ।


नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिकलसेल अस्पताल निर्माण तथा संचालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । अस्पतालले सवै विरामीको उपचार गर्ने भएकोले अन्य पालिकासँग समन्वय गरि रकमको ब्यवस्था गर्न सहयोग गर्ने आश्वासन दिए ।
थारु समुदायको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष एवम् सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जिवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका विरामीको उपचार गर्दै आए पनि उचित ब्यवस्थापन नहुँदा विरामीले दुख पाएको बताए । उनले पश्चिम नेपालका करिव एकलाख थारुलाई सिकलसेल भएको अनुमान लगाए । ‘सिकलिङक र सचेतनाको कमीले अधिकांश विरामी घरमै छट्पटाइरहेको अवस्था छ । उपचारका लागि अस्पताल आउने विरामीले पनि सहज रुपमा उपचार नपाएको अवस्था छ,’ उनले भने ।


सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा दर्ज गराएका भेरी अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहेका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई सम्मान गर्ने कार्यक्रम रहे पनि उनी अनुपस्थित भए । भवन शिलान्याश कार्यक्रममा डा. सुरेन्द्र चौधरीले सिकलसेल र यसले पार्ने प्रभाव तथा न्यूनिकरणका उपाय बारे प्रष्ट्याएका थिए ।
सो अवसरमा थारु महिलाले सिकलसेलले पारेको असर र राजनीतिक दलका नेताले खेलेको भूमिकाको बारेमा तयार पारेको गीतमा नृत्य गरेका थिए । उक्त अस्पताल १० कट्ठा जमिनमा निर्माण हुने भएको छ ।
अस्पताल निर्माण हुने स्थलमा दंगीशरण सिभिल होम र होमस्टे संचालन गर्ने तयारी समेत गरिएको छ ।

हेर्नुस भिडियो :

Previous articleअध्यक्ष मल्ललाई अनेरास्ववियूको बधाई, एकीकृत समाजवादी नेता सुनारलाई छट्पटी
Next articleवडा दसैँका बेला पश्चिम नेपालको थारु समुदायमा नाचिने सख्या पैँया (हेर्नुस भिडियो )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here