बाँके, २२ भाद्र, २०७९ ।
नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाँकेले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्ललाई स्वागत तथा बधाई दिएको छ । अनेरास्ववियू बाँके अध्यक्ष इन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले पार्टीको शिर उँचो राख्ने गरि काम गर्न अध्यक्ष मल्ललाई सुझाव दिए ।
उनले एमालेले आफूलाई कहिलै पनि पक्षपात नगरेको बताउँदै उनले पछिल्लो समय एमालेको नीति तथा विचार मन नपरेर विद्रोह गरेको बताए । उनले एकीकृत समाजवादीले पनि नीति तथा विचार नमानेकोले अहिले आफू छटपटाईरहेको बताए । ‘एकीकृत समाजवादी पनि नीति तथा विचारमा अडिग हुन सकेको अवस्था छैन । नीति तथा विचार र शिद्धान्तमा विचलन आएपछि एमालेबाट विद्रोह गरेर बाहिरिए । एकीकृत समाजवादीमा पनि नीति तथा विचार पालना भएको पाइएन । अहिले मलाई छटपटाहट भइरहेको छ । कहाँ जाउँ, के गरौँ भइरहेको छ,’ उनले भने ।
बाँके क्षेत्र नं. ३ को उम्मेदवार बन्न एमालेले आग्रह गरेको दावी गर्दै संविधान सभा सदस्य समेत रहेका नेता सुनारले उम्मेदवार बन्नका लागि राजनीति नगरेको बताए । म उम्मेदवारको टिकट पाउनका लागि भरिहत्ते नगर्ने जिकिर गरे । ‘म धनाढ्य होइन । डन पनि होइन, म जनताको सेवक हुँ । त्यसैले त धन र डन नभए पनि मसँग जनता छन्,’ सुनारले भने, ‘म अहिले पनि क्षेत्र नं. ३ मा जित्ने हैसियत राख्दछु ।’
एकीकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसैन खाँले गरिव र असहाय विरामीको उपचारमा टेवा पुग्ने गरि काम गर्न अध्यक्ष मल्ललाई सुझाव दिए ।
त्यसैगरी, एकीकृत समाजवादी बाँकेका अध्यक्ष इन्द्रबहादुर थापाले पनि नवनिर्वाचित अध्यक्ष मल्ललाई जनताको हितमा काम गर्न सुझाव दिँदै शुभकामना दिए । अध्यक्ष मल्लले भोली विहीवार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।