जातिय र धर्मको राजनीति त्यागेर विकासको पक्षमा राजनीति गर्न मन्त्री राईको आग्रह

बाँके, २० भाद्र, २०७९ ।


जव निर्वाचन नजिकिन थाल्छ, अनि नेपालगन्जमा जातिय र धार्मिक सद्भावका कुरा सुरु हुन्छन् । सदियौँदेखि मिलेर बसेका यहाँका सर्वसाधारणलाई धार्मिक र सामाजिक सद्भावको कुरा गरेर गिजोल्ने प्रयास गरिन्छ । धार्मिक र जातिय कुरा गरेर जनता भड्काउने र मतदाता आफ्नो पक्षमा पार्ने प्रयास विगतदेखि हुँदै आएको छ । अहिले पनि नेपालगन्जमा धार्मिक र जातिय मुद्दाको राप बढ्दै गएको छ ।
यहाँ एकले अर्कोलाई आरोप लगाएर सद्भाव खल्बल्याउने प्रयास गरिदै छ । तर, संघीय समाजबादी पार्टीका सचिव समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले यस्ता गतिविधि गर्नेबाट टाढा रहन र सचेत हुन आम बाँकेबासीसँग आग्रह गरेका छन् । उनले जातिय र धर्मको नाममा नभई विकासका एजेण्डामा राजनीति गर्न सवैलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘सद्भावको सहर नेपालगन्जलाई जातिय र धर्मको नाममा अशान्त बनाउने प्रयास कसैले नगरोस । सक्नुहुन्छ भने आउनुस विकासका एजेण्डा र जनताको सरोकारका विषयमा प्रतिस्पर्धा गरौँ । समाज विगारेर गरेको राजनीतिको केहि अर्थ छैन ।’
उनले विकासका योजना बनाउन नसक्ने र विकास चिन्न नसक्नेले जातिय र धर्मको नाममा राजनीति गर्न थालेको बताए । उनले आफूले अहिलेसम्म हिन्दू, मुस्लिम, इसाई, बौद्धिस्ठ भनेर उचनिच ब्यवहार नगरेको र नगर्ने स्पष्ट पारेका छन् । ‘जनता जनार्दन हुन् । यहाँ आफू नभई जनता जित्ने गरि राजनीति गर्नुपर्छ । आफूमात्र जित्ने गरि गरिएको राजनीति दीगो हुँदैन । र, त्यो जनताको राजनीति गरेको नभई स्वार्थका लागि गरिएको राजनीति हुनेछ,’ मन्त्री राईले भने ।
धर्मको नाममा राजनीति गर्नेहरुकै कारण नेपालगन्ज र आसपासका गाउँमा धार्मिक सहिष्णुतामा आँच आउने गरेको बताउँदै मन्त्री राईले धर्मको नाममा राजनीति गर्नेसँग सजग रहन सर्वसाधारणसँग आग्रह गरे । धर्मका कुरा गर्नेलाई भन्दा विकासका योजना ल्याउने र बनाउनेलाई चिन्नुपर्ने उनको भनाई छ । ‘जातिय र धर्मका कुरा गरेर धमिलो पानीमा माछा मार्न खोजिदै छ । यो सरासर गलत छ,’ मन्त्री राईले भने ।

Previous articleसुखाग्रस्त नरैनापुर संकटग्रस्त क्षेत्र घोषणा
Next articleसंस्कृति, परम्परा र रितिरिवाजले थिचिएका थारु (विवेचना)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here