एकीकृत समाजवादी गुल्मी एमालेमा समाहित

बाँके, २० भाद्र, २०७९ ।


गुल्मीमा एमाले र एकीकृत समाजवादी गुल्मी बीच पार्टी एकता भएको छ । दुवै पार्टीले सोमवार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा पार्टी एकता भएको जनाएका हुन् ।
नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा भएको पार्टी एकता कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको दाबी गरे।
भण्डारीले एमालेभित्रका केही मुद्दामा हिजो असहमति जनाएर अलग भएको एकीकृत समाजवादीले एमसिसी, नागरिकता विधेयक, वामपन्थी एकता र उपलब्धिलाई बेवास्ता गर्न थालेपछि एमालेमा पुनः समाहित भएको प्रतिक्रिया दिए । एमालेबाट विद्रोह गरेर स्थानीय तहको चुनावमा आफ्नै सहयोद्धालाई पराजित गराउनुबाहेक केहि उपलब्धि नभएको बताउँदै उनले नेतृत्वको बेइमानीले विद्रोहको उद्देश्य पूरा नभएको बताए । उनले भने, ‘टुटेको अभियान र मन जोडेर एमालेलाई बलियो बनाउने प्रतिबद्धता जनाउँछु ।’
एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले वामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताए । एकीकृत समाजवादीका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदीप घिमिरेलगायतका एक दर्जनभन्दा बढी नेता एमालेमै फर्किएका छन् ।

Previous articleभेरी अस्पतालका बिरामीलाई रगत निशुल्क, रक्त संचारको अत्याधुनिक भवन बनाउने प्रक्रिया सुरु : मन्त्री राई
Next articleसुखाग्रस्त नरैनापुर संकटग्रस्त क्षेत्र घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here