भेरी अस्पतालका बिरामीलाई रगत निशुल्क, रक्त संचारको अत्याधुनिक भवन बनाउने प्रक्रिया सुरु : मन्त्री राई

निःशुल्क रगत प्रदानको उद्घाटन कार्यक्रममा विरामीलाई रगत प्रदान गर्दै मन्त्री मोहम्मद इस्तियाक राई ।

बाँके, १९ भाद्र, २०७९ ।


नेपाल रेडक्रस सोसाइटीले भेरी अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत प्रदान गर्न थालेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग, केमिकल लगायत सामग्री खरिद गर्न लाग्ने रकम लुम्विनी प्रदेस सरकारले दिने भएपछि विरामीलाई रगत निःशुल्क प्रदान गर्न थालेको नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।
उनले आइतवारदेखि भेरी अस्पतालमा उपचाररत विरामीलाई आवश्यक पर्ने रगत निःशुल्क दिन थालिएको बताए । उक्त सेवाको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक कार्यक्रमका वीच सुरुवात गरेका हुन् ।
सो अवसरमा मन्त्री राईले रक्त संचार केन्द्रका लागि सुविधा सम्पन्न भवन निर्माण गर्न प्रक्रिया अगाडी बढाइसकेको बताए । उनले अस्पतालको बेडमा छट्पटाई रहेका विरामीलाई रगत दिएर रेड्क्रसले पवित्र काम गर्दै आएको बताए । ‘भेरी अस्पतालको एउटा सुविधा सम्पन्न भवन निर्माण पूरा भई संचालनको तयारीमा छ । अर्को भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु हुने क्रममा छ । पवित्र काम गर्ने रक्त संचार केन्द्रले जीर्ण भवनबाट सेवा दिनु राम्रो कुरा होइन,’ उनले भने ।
मन्त्री राईले रक्त संचार केन्द्रको भवन पनि सुविधा सम्पन्न निर्माण गर्न बजेटको ब्यवस्थापन गरिसकेको स्पष्ट पारे । उनले बाँकेको विकासलाई कसैले रोक्न नसक्ने भन्दै विकासमा राजनीति नगर्न आग्रह गरे । ‘बाँके क्षेत्र नं. २ को सांसद र नेपाल सरकारको मन्त्री भएको हैसियतले यहाँको विकास गर्ने मेरो दायित्व हो । मैले यहि दायित्व पूरा गर्न बाँकेमा विभिन्न किसिमका योजना ल्याएर कार्यान्वयनमा ल्याएको छु,’ मन्त्री राईले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्धिन राईले रेडक्रसले सुरु गरेको निःशुल्क रगत वितरण कार्यले गरिब तथा असहाय बिरामीलाई राहत मिल्ने बताए । रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रसले सुरु गरेका कामको प्रशंसा गरे ।

Previous articleजसपाबाट वडा अध्यक्षका उम्मेदवार पाण्डे एमालेको समानुपातिकमा सिफारिस
Next articleएकीकृत समाजवादी गुल्मी एमालेमा समाहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here