बाँके, १८ भाद्र, २०७९ ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन विताइरहेका रेशमलाल चौधरी लगायत नेता, कार्यकर्तालाई छुटाउन यतिबेला लुम्बिनी प्रदेशका पर्यटन तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरी सक्रिय रुपमा लागेका छन् । उक्त घटनालाई राजनीतिक भएको भन्दै उनी यतिबेला डिल्ली बजार कारागारमा रहेका रेशम र उच्च अदालत दिपायलबाट कैद सजाय तोकिएका लक्ष्मण चौधरी लगायतलाई छुटाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई दवाव दिइरहेका छन् ।
पहिलो चरणको बार्ता सकारात्मक भएको बताउँदै उनले भोली आइतवार र सोमवार दोस्रो चरणको बार्ता हुन लागेको बताए । ‘टीकापुर घटनामा पक्राउ परेका र फरार रहेकाहरुलाई निर्वाचन अघि रिहाई गर्न हरसम्भवको प्रयास भइरहेको छ,’ उनले भने, ‘उहाँहरु (रेशमलाल, लक्ष्मण लगायत) टीकापुर घटनामा संलग्न भएको भनि जेल परेका र फरार रहेका थारुलाई छुटाउन सकियो भने ठूलो सन्तोष मिल्ने छ ।’
उनले टीकापुर घटनालाई राजनीतिक दलले राजनीतिक मुद्धा बनाउन नसकेको भन्दै दुख ब्यक्त गरे । ‘झापा विद्रोह, माओवादी आन्दोलन, मधेस आन्दोलन राजनीतिक हुने, तर टीकापुर घटना राजनीतिक बनाउन इन्कार गर्नुमा राजनीतिक दलमा खोट देखिन्छ,’ उनले भने ।
उनले बार्ताका लागि थारु कल्याणकारिणी सभालाई अगाडी सारेको बताए । यो मुद्धा सिंगो थारुको भएको उनले बताए ।