राहतको माग गर्दै स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन

बाँके, १६ भाद्र, २०७९ ।


नरैनापुर गाउँपालिकाले सिँचाईका लागि सरकारसँग डिप बोरिङ माग गरेको छ । सिँचाई सुविधा नहुँदा नरैनापुरका ९० प्रतिशत किसानले धान खेती गर्न नपाएपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसँग डिप बोरिङ माग गरेका हुन् ।
उनले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाउँदै सिँचाईका लागि डिप बोरिङ सँगै खेती गर्न नपाएका किसानलाई राहत उपलब्ध गराउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गाउँपालिकाले यसअघि नै सुखा क्षेत्र घोषणा गरिसकेको छ । नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकलाई राहत दिन प्रदेश र संघीय सरकारसंग माग गर्ने निर्णय गरे पछि गाउँपालिकाले उक्त निर्णयलाई माग पत्र संगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीलाई ज्ञापन पत्र बुझाउँदै गाउँपालिका अध्यक्ष शाहले नरैनापुरका बासिन्दालाई प्रकृतिले समेत ठगेको बताए । ‘गत वर्षको बेमौसमी बर्षाले धानबाली नष्ट भयो । त्यो पीडा सेलाउन नपाउँदै समयमा वर्षात नहुँदा धानको बिउ खेतमा नै सुकेर नष्ट भयो,’ उनले भने ।
लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसीले पनि नरैनापुरबासीलाई राहत दिन सरकारसँग माग गरेकी छन् । उनले गृह र कृषि मन्त्रालयसँग राहतको व्यवस्थापनका लागि पत्रचार गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिन् ।
प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले विपद ब्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने आश्वासन दिए । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अन्त्यका लागि सक्दो प्रयास र पहल गर्ने छु,’ उनले भने ।
सुख्खा क्षेत्र घोषणा भएसँगैसंघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अर्थ मन्त्री जनार्दन शर्मासँग राहतका लागि माग गरिएको अध्यक्ष शाहले बताए ।

Previous articleबाँके प्रदेस सभा ३ क र ख बाट कांग्रेस उम्मेदवार को–को सिफारिस भए ?
Next article‘नो हर्न’ कार्यान्वयन गर्न सरोकारवाला निकाय मौन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here