पश्चिमा थारु समुदायमा मृत्यू संस्कार गर्ने प्रचलन कस्तो छ ?

पश्चिम ढोकाबाट मात्र शव निकाल्छन्, क्रियापुत्रीले नुन खान्छन््, तेल र बेसार खाँदैनन्, शव नजलाएर गाड्छन्, छोरा मध्ये एक जनामात्र क्रिया बस्छन् । क्रियापुत्री पूर्वको ढोकाबाट बाहिर निस्कन पाउँदैनन्, निस्किए अनिष्ट हुन्छ भन्ने मान्यता छ।

तस्वीर : गुगलबाट साभार ।

विश्वराज पछल्डङ्ग्या


बाँके, १५ भाद्र, २०७९ ।


जात, धर्म र समुदाय अनुसार मृत्यू संस्कार गर्ने विधि फरक–फरक हुन्छ । ठाउँ र परिवेश अनुसार पनि मृत्यू संस्कार गर्ने गरेको पाइन्छ । कुनै समुदायमा मान्छे मरेपछि गाड्ने चलन छ । कसैले जलाउँछन् त कसैले मृत शरिरको मासु काग र चिललाई खुवाउँछन् ।
त्यसैगरि, मृत शरिरलाई अन्तिम संस्कारका लागि लैजाने बेला कुनै समुदायले बाजा बजाउँछन् त कुनै समुदायले शंख फुक्छन् । मरेको मान्छेलाई कुनै समुदायले काचो बासको सहायतामा बोकेर लैजान्छन् त कसैले सुन्दर बाकसमा राखेर घाटमा पुर्याउँछन् । गिरि, योगी, पुरी, भारती सम्प्रदायले प्राण त्याग गर्ने वित्तिकै मृत शरिरलाई सिंहासन आशनमा बसाल्छन् । अनि नजिकको आफ्नो जमिनमा लगेर समाधि निर्माण गरि विधि पूर्वक अन्त्यष्टि गर्छन् । मृत शरिर गाडेको ठाउँमा मन्दिर बनाएर पूजा पर्छन् ।
परापूर्व कालदेखि गरि आएको धार्मिक संस्कार अनुसार मृत आत्माको शान्तिका लागि आफ्नो परम्परा अनुसार अन्तिम संस्कार गर्न पाएमात्र मृतकका परिवारलाई आत्म सन्तुष्टि प्राप्त हुन्छ । यो नैसर्गिक अधिकार भित्र पर्दछ ।
आज हामीले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय मध्य थारु समुदायले गर्ने मृत्यू संस्कारका बारेमा चर्चा गर्छौँ । मृत शरिरलाई पश्चिम दिशामा लगेर गाड्ने थारु समुदायको पराम्परागत संस्कार हो । तर, पछिल्लो समय गाड्ने प्रचलन अन्त्य भइसकेको छ भन्दा फरक नपर्ला । अन्य समुदायको देखासिखी गर्दै थारु समुदायले पनि मृत शरिर नदीमा लगेर जलाउने क्रम बढेको छ । गाड्ने प्रचलन करिव–करिव अन्त्य भइसकेको छ,’ थारु बुद्धिजीवी लिगबहादुर चौधरीले भने, ‘पछिल्लो समय नदी, ताल वा पोखरीमा लगेर जलाउने क्रम बढेको छ ।’
यो समुदायले मरेको मान्छेलाई खटियालाई उल्टो पारेर त्यसमा मृत शरिर राखेरे अन्त्यष्टिका लागि घाटमा लैजान्छन् । थारु समुदायको घाट पश्चिम दिशामा हुन्छ ।

पश्चिम ढोकाबाट मात्र शव निकाल्ने प्रचलन
हिन्दू धर्ममा आस्था राख्ने अन्य समुदायले मान्छे मर्ने वित्तिकै घरबाट बाहिर निकाल्छन्, तर थारु समुदायमा त्यसको ठिक उल्टो लाशलाई घरको कुल देवता रहेको (डिउह्रार कोन्टी) उत्तर–पूर्वको कोठामा लगेर राख्दछन् । मरेको मान्छेको मुखमा हिरन हालेपछि अन्त्यष्टिका लागि बाहिर निकालिन्छ ।
थारु समुदायले लाशलाई पश्चिम ढोकाबाट मात्र बाहिर निकाल्छन् । पूर्वतर्फ भगवानको बास हुने भएकोले पश्चिम ढोकाबाट निकाल्ने परम्परा चलाएको पश्चिम दाङका देशबन्ढ्या गुर्वा मोहलाल चौधरीले बताए । उनले पूर्व ढोकाबाट लाश निकाले अनिष्ट हुने विश्वास रहेको बताए ।

सोमवार र विहीवारका दिन शुद्ध, शान्तिको काम
हिन्दु धर्ममा आस्था राख्नेहरुले १३ औँ दिनका दिन शुद्ध, शान्ति गर्छन् । तर, थारु समुदायले १३ दिन कुर्दैनन् । सल्लाह अनुसार ३ देखि ७ दिनसम्म तेल र बेसार बार्ने प्रचलन रहेको छ ।
३, ५, ७ वा ९ दिनमा घर गुर्वाको निर्देशनमा सुढ्वारि (चोख्याउने दिन) संस्कार गरिन्छ । सुढ्वारिको दिन गाउँलेहरु र गोट्यारहरु भेला भएर घर सरसफाईदेखि चोखाउने काम गरिन्छ ।
मान्छे मरेको एक–दुई दिन भित्रै पनि शुद्ध, शान्ति गर्ने चलन पनि छ ।
थारु समुदायले विशेषगरि सोमवार र विहीवारका दिन शुद्ध, शान्तिको काम गर्छन् । ‘परिवारका सदस्यको शनिवार मृत्यू भएको छ भने सोमवार वा विहीवार शुद्ध्वारी गरे पनि हुन्छ । लामो समयसम्म क्रिया बस्दा परिवारका सदस्यलाई हैरानी हुने भएकोले छोटो समयमै शुद्ध, शान्तिको काम गर्ने परम्परा बसालेको अनुमान गरिन्छ । ‘काममा ब्यस्त हुने भएकोले दैनिक काममा असर नपरोस् भन्ने उद्देश्यले थारु समुदायले छोटो समयमा शुद्ध, शान्ति गर्ने चलन चलाएको हुनुपर्छ,’ साहित्यकार सुशील चौधरीले भने ।

छोरा मध्ये एक जनामात्र क्रिया बस्ने चलन
मान्छे मरेमा एक जनामात्र क्रिया बस्ने प्रचलन रहेको छ । बाबुआमाको देहवसान भएमा धेरै जना छोरा भए पनि एक जना मात्र क्रिया बस्ने चलन रहेको उनले बताए । ‘कुन छोरा बस्ने भन्ने हुँदैन । जुन छोरो बलिया र स्वस्थ छ त्यो छोरा क्रिया बसे पुग्छ,’ उनले भने, ‘तर कुल देवता संगोलमा हुनु पर्छ । सवै भाईको आ–आफ्नो घरमा कुलदेवता भए सवै भाईले आ–आफ्नो घरमा क्रिया बस्नु पर्छ ।’

पुरुषलाई घोप्टो र महिलालाई उत्तानो सुताएर गाडिन्छ
गर्या (मान्छे गाड्ने खाल्डो) खन्दा र माटो दिँदा या चितामा आगो लगाउँदा पहिलो पटक जेठो छोराले हात लगाउनु पर्छ । त्यस पश्चात् अरुले खने हुन्छ । गर्यामा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो सुताइन्छ ।
पुरुषले शवलाई घाटमा लगेर जलाउने वा गाड्ने गर्दछन् । मृतकको मुखमा ‘हिरन’ राख्ने चलन छ । शवलाई लगेपछि मृतकको घरमा महिलाहरुले घर लिप्छन्, माटाका भाँडा र मृतकले प्रयोग गरेका बस्तु फालिदिन्छन् ।

अर्को के जन्म पाउँछ भनेर थाहा पाउन ‘जाना’ राख्ने चलन
महिलाहरुले घरको सरसफाई गरेर मृतकले अर्को जन्ममा के जन्म पाउँछ भनेर थाहा पाउनका लागि कुनै एउटा कोठामा ‘जाना’ राखेर नुहाउन जान्छन् ।
नुहाएर फर्केपछि महिलाहरु आ–आफ्नो घरबाट ‘ढरम माना’ को रुपमा चामल, नुन, मसुराको दाल लिएर मृतकको घरमा ‘सिढा डेना’ जान्छन् ।
गर्या (मान्छे गाड्ने खाल्डो) खन्दा र माटो दिँदा या चितामा आगो लगाउँदा पहिलो पटक जेठो छोराले हात लगाउनु पर्छ । त्यस पश्चात् अरुले खने हुन्छ । गर्यामा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो सुताइन्छ ।
मृतकसँगै लगिएको साँठ (अनाज, कपडा, तरकारी, हँसिया, महिला भए श्रृङ्गार सामग्री) नदी तर्दा चाहिने ज्यालाको रुपमा कात्रोमा नगद आदि गर्या या चितामा राखिदिनु पर्छ । आगो दिन थालेकोले उक्त परम्परा लोपोन्मुख छ ।
किरिया बस्नेले सेतो कपडा, सेतो कछनी, सेतो पग्या लगाउँछन् । सेतो सप्कि (च्यादर) ओढ्छन् । र, खडाउँ (काठको चप्पल) लगाउँछन् । भूत प्रेतबाट सुरक्षाका लागि खुरै (फलामबाट बनाइएको औजार) र छुरा राख्छन् । बह्रि कोठाको एउटा कुनामा भखारी (धान राख्नका लागि बाँस वा निगालोले बनाएको सामग्री) ले बेरेर जालले छोपेर किरिया बस्ने ठाउँ बनाइएको हुन्छ ।

घाटबाट फर्किदा बयरको झ्याङ् बाटोमा राख्ने
शव जलाएर फर्किदा बाटोमा कोदालोले खनेर चिनो बनाउने र त्यसमा बयरको झ्याङ् राखिन्छ । यस्तो गर्नुलाई पितृ र घरको सीमा छुट्याएको बुझाउँछ ।
आमाको क्रिया बस्दा एक छाक दही भात खाने गरिन्छ । तर, एकदमै भोक लागेमा मकैको खाजा खाने गरिन्छ । बुबाको क्रिया बस्दा दही वा दूध खान सकिन्छ ।
किरिया बस्नेले प्रत्येक दिन टपरीमा भात लिएर पितृको लागि बाटोमा राखिदिन्छ, रक्सीको धार दिन्छ र बत्ती बालिदिन्छ । छोरा भएकी महिलाको मृत्यु भएमा छोराले गुइँठामा आगो लिएर, दियो बालेर आमाको आत्मालाई बोलाउन सधैँ गर्यामा जानुपर्छ ।
पुरुष र महिलाहरु घाटबाट घर फर्केपछि मसुराको दाल र भात पकाएर मृतकका लागि थोरै खाना निकाल्ने र त्यसमा हात धुने चलन छ । यस संकारलाई ‘भात कहर्ना’ भनिन्छ ।

क्रियापुत्रीले नुन बार्दैनन्, तेल र बेसार खान्नन्
हिन्दु धर्ममा आस्था राख्ने अन्य समुदायका क्रियापुत्रीले नुन, तेल, बेसार खाँदैनन्, तर थारु समुदायका क्रियापुत्रीले नुन खान्छन् । ‘नुन नखाए शरिर गल्ने र काम गर्ने जाँगर नलाग्ने भएकोले थारु समुदायका पुर्खाले शरिरको रक्षाका लागि क्रियापुत्रीलाई नुन खान दिएको हुनुपर्छ,’ थारु संस्कृति अन्वेषक अशोक चौधरीले भने, ‘शरिर गल्न नदिने उद्देश्यले नुन खान दिनु पनि पौरख र मेहनतसँग जोडिन्छ । सधैँ काममा ब्यस्त रहने थारु जातिको शरिर कमजोर भए काममा बाधा पुग्ने नै भयो । नुन खान दिनु भनेको नै शरिर गल्नबाट जोगाउनु हो । शिथिल हुनबाट बचाउनु हो ।’
आमाको क्रिया बस्दा एक छाक दही भात खाने गरिन्छ । तर, एकदमै भोक लागेमा मकैको खाजा खाने गरिन्छ । बुबाको क्रिया बस्दा दही वा दूध खान सकिन्छ ।

सुँगुरको मासु मृत आत्मालाई चढाउने प्रचलन
ब्राहमण, क्षेत्री र अन्य समुदायले शुद्ध, शान्तिका बेला ब्राह्मण बोलाएर मृत आत्माको शान्तिको कामना गरि प्रसादको रुपमा फलफूल, हलुवा, पुरी, खिर चढाउँछन् । तर, थारु समुदायले सुँगुरको मासुको प्रसाद पितृलाई चढाउँछन् ।
कतिपयले शव दाह गरे पछि र कतिपयले त सुढ्वारि (चोखिने दिन) मा मात्र मुण्डन गरेर शुद्धि कर्म गर्छन् । किरिया बस्ने छोरा लगायत सहगोत्रीहरु खोलामा गएर मुण्डन गरेर नुहाउँछन् । आमा–बुवा नभएकाले टुपी फालिदिनु पर्छ । महिलाहरुले घर लिप्छन्, कपडा धुन्छन्, भाँडा चोख्याउँछन् । घर, गोठ, आँगनमा स्वानपानी (सुनपानी) छिटेर (छार्नु) चोख्याइन्छ । इष्टमित्र, सगोत्रीहरु ढरम माना लिएर चोखिन सहभागी हुन्छन् ।
गोट्यारहरुले सेतो टोपी साटेर आपसमा ढोगभेट खुलाउँछन् । घर गुर्वाले पहिले बह्रि कोठामा डिउह्रारका देवताहरुको नाममा मिन्हि डेना (खान दिनु) पूजा गर्दछन् । डिहुरारमा पितृको रुपमा ठाउँ दिन पूजा गर्दछन् । गोट्यारहरुले पितृ भएका÷भएकीलाई चढाएको पिट्टर (पिण्ड) खान्छन् ।
नजिकको खोलामा पिट्टर बगाउन जान्छन् । बर्छिले मारिएको सुङ्गुरको मासुका साथ इष्टमित्रहरुलाई ढरम भाट (खानु भन्दा पहिला मृतकका लागि छोट्याइने खाना) कहर्ना भोज खुवाइन्छ । ढरम भाटमा सबै थोक मुछेर पितृको नाममा निकालेर त्यसैमा जल चढाउँछन् ।
टेलडेह्वा (बाहुन÷चोख्याउने मान्छे) ले गोट्यारहरुलाई चोखिनका लागि तेल दिन्छ । गोट्यारहरुले तेल कपालमा लगाउँछन् या हत्केलामा घस्छन् । टेलडेह्वालाई क्षमता अनुसार बस्तु नगद दान गरिन्छ । पिह्रि बितेको हो भने गरढु¥याहरु रातभरि नाँच्छन् ।

तेल दिने
थारु समुदायमा ट्यालडेह्वा थर हुन्छ । यो थर भएका ब्यक्तिले शुध्वारीका बेला मृत्यू भएका घरका मानिसलाई खाने तेल दिन्छन् । उक्त तेल परिवारका सदस्यले कपाल, नाडी र पाखुरामा घस्छन् ।
घर परिवार र गोत्यारलाई तेल दिएपछि प्रसाद खान शुद्धारीमा आएका अन्य ब्यक्तिलाई दिने चलन छ । ट्यालडेह्वाले तेल दिएपछि मात्र तेल खान खुल्ने विश्वास थारु समुदायमा छ । ‘तेल दिने ब्यक्तिले पहिले घरका सदस्यलाई पालैपालो तेल दिन्छन्, त्यसपछि अन्य ब्यक्तिलाई बाँडेपछि घरमा तेल खाने खुल्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

Previous articleअन्तर्राष्ट्रिय मापदण्डमा नेपालगन्ज म्याराथन खेलाइने
Next articleबाँके प्रदेस सभा ३ क र ख बाट कांग्रेस उम्मेदवार को–को सिफारिस भए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here