बाँके, १३ भाद्र, २०७९ ।
अन्तर्राष्ट्रिय मापदण्डमा धारा नेपालगन्ज म्याराथन खेलाइने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा खेलाउनका लागि वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि (बानियाभार) भएर पुनः बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको उनले बताए । मेयर बिष्टले भने, ‘नेपालगन्ज म्याराथनको हरेक पक्षमा उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’
म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग– अलग सर्टिफिकेट आउने सान्डिवानले बताए ।
‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु पनि प्रतियोगितामा सहभागी हुन आउने सम्भावना बढेको अध्यक्ष ठकुरीले बताए । उनले प्रतियोगिताको माध्यमबाट नेपालगन्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा लिएको बताए । ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो,’ उनले भने ।
नेपालगन्ज म्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिवार आयोजना हुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भई तयारी अघि बढे पनि आमनिर्वाचनका कारण २४ मंसिरमा आयोजना गर्ने तयारी गरेको उनले बताए ।
सरकार र तत्कालीन नेकपा माओवादी बीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो,’ म्याराथन संस्थापक टीएस ठकुरीले भने, ‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’
सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिएका छन् । योसँगै नेपालमा अव तीन वटा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउने भएका छन् ।