अट्वारीको दोस्रो दिन आज फर्हार गर्दै थारु

अट्वारीको दोस्रो दिन फर्हार गर्दै थारु स्केच : मिठु चौधरी

बाँके, १३ भाद्र, २०७९ ।


पश्चिम नेपालका थारु समुदायले सोमबार विहान अट्वारीको फर्हार (फलहार) गरेका छन् । अट्वारीको ब्रत बस्ने पुरुषहरु विहानै उठेर नजिकैको नदी, खोलामा स्नान गरेर बैठक कोठालाई लिपपोत गरि तीन, पाँच या सात थरिका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि अनिवार्य जस्तै हुन्छ ।
यी विभिन्न थरिका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलीबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सवै थरिका तरकारी र भात अलिकती झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारु समुदायले फह्रार कहर्ना (फर्हार गर्ने) भन्दछन् ।
ब्रत बसेका सवैले फरहार गरिसकेपछि घरका सवैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमवार विहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलीबेटीलाई अग्रासनको रुपमा दिने चलन छ ।
अग्रासन
थारु समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलीबेटीलाई दिने चलन छ । यसलाई थारु समुदायले ‘अग्रासन’ भन्छन् । परापूर्व कालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलीबेटीहरु अग्रासनको पर्खाईमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाई, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् । ‘अग्रासन दिन नआउँदासम्म केहि नखाएर चेलीबेटी बसेका हुन्छन्,’ थारु अगुवा सुशील चौधरीले भने, ‘अघिपछिको भन्दा अट्वारीको अग्रासनको महत्व हुन्छ । अग्रासन दिन नजाने हो भने चेलिबेटीले पीर मान्दछन् । अरु पर्वको भन्दा चेलीबेटीलाई अग्रासनको बढि आशा राखेका हुन्छन् ।’

आफ्ना चेलिबेटीलाई अट्वारीको अग्रासन दिन जाँदै ।


भाई र बहिनीको सम्बन्ध मजबुत बनाउने पर्व
थारु समुदायको अट्वारी पर्व दाजु–बहिनी, दिदि र भाई वीचको सम्बन्ध जोड्ने, बढाउने र बजबुत बनाउने पर्वको रुपमा लिइन्छ । अघिपछि दाजु–बहिनी, भाई र दिदि वीच भएको मनमुटाव पनि अट्वारी पर्वले मेटाउने गर्दछ ।
बर्षभरि दिदि बहिनीको घरमा नगएका दाजुभाई जसरी भए पनि अट्वारीको अग्रासन दिन जान्छन् । बर्षभरिको रिसराग पनि ‘अट्वारी’ को अग्रासनले मेटाउने गर्दछ । त्यसैले ‘अट्वारी’ पर्वलाई मेलमिलाप र सद्भावको पर्वको रुपमा लिइन्छ । यो पर्वले दाजुभाई र दिदिबहिनीको भेटघाट गर्ने अवसर जुराउने गरेको छ ।

Previous articleथारु समुदायले आज अट्वारी पर्व मनाउँदै, के छ विशेषता ?
Next articleअन्तर्राष्ट्रिय मापदण्डमा नेपालगन्ज म्याराथन खेलाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here