अट्वारी पर्वमा सार्वजनिक विदा (कुन–कुन स्थानीय तहले दिए विदा ?)

अट्वारीको दोस्रो दिन फर्हार गर्दै थारु स्केच : मिठु चौधरी

बाँके, ११ भाद्र, २०७९ ।
थारु समुदायको पवित्र पर्व अट्वारीको अवसरमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले एक दिन विदा दिएका छन् । दाजुभाई र दिदीबहिनी विचको सम्बन्ध सुमधुर बनाउने पर्वको रुपमा मनाइने अट्वारी १२ भाद्रका दिने मनाइने भएको छ ।
पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशले एक दिन सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत विष्णुदत्त अवस्थीले सार्वजनिक सूचना जारी गरि अट्वारी पर्वको अवसरमा प्रदेशभर एक दिन सार्वजनिक विदा दिएको जनाएका छन् ।
तर, लुम्बिनी प्रदेशमा अट्वारी मनाउने बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायलाई मात्र विदा दिने भएको छ । आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका अधिकृत माधव शर्माले सूचना जारी गरि अट्वारी मनाउने समुदायलाई मात्र विदा दिने निर्णय भएको जनाएका छन् ।
लुम्बिनी प्रदेशको निर्णयले थारु कर्मचारीले विदा पाए पनि विद्यार्थीहरु पढाईबाट बञ्चित हुने भन्दै थारु अगुवाले आलोचना गरेका छन् । संचारकर्मी सन्तोष दहितले लुम्बिनी प्रदेश सरकारको निर्णयले विद्यार्थीहरु मर्कामा पर्ने बताएका छन् । ‘यस्तो निर्णय गर्नुभन्दा विदा नै नदिने निर्णय गरेको भए उत्तम हुन्थ्यो,’ उनले भने ।

स्थानीय तहले दिए विदा
मन्त्रालयले थारु समुदायलाई मात्र विदा दिने निर्णय गरे पनि घोराही र तुल्सीपुर उपमहानगरपालिकाले १२ भाद्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् । घोराही उपमहानगरपालिकाका कार्यबहाक मेयर हुमा डिसी र तुल्सीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सूचना जारी गरि अट्वारी पर्वको अवसरमा एक दिन सार्वजनिक विदा दिइएको जनाएका छन् ।
त्यसैगरी, दाङ, बाँके र बर्दियाका थारु बाहुल्य स्थानीय तहले पनि सार्वजनिक विदा दिने निर्णय गरेका छन् । दंगीशरण गाउँपालिकाले पनि अट्वारी पर्वको अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको अध्यक्ष शम्भु गिरीले जारी गरेको सूचनामा उल्लेख छ ।
दाङको शान्तिनगर, बबई, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिकाले पनि एक दिन सार्वजनिक विदा दिएका छन् ।
यता, बाँकेको राप्तीसोनारीले पनि सार्वजनिक विदा दिने निर्णय गरेको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।

Previous articleलेनदेन मुद्दामा फरार भाट पक्राउ
Next articleथारुहरु किन बैकल्पिक पार्टी खोज्दै छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here