पहिचानसहितको अधिकार माग्दा राज्यबाट दमन : अध्यक्ष रञ्जिता चौधरी

बाँके, ९ भाद्र, २०७९ ।


नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बर्र्षाैँदेखि शोषणमा परेका नागरिकको उन्मुक्तिका लागि पार्टी स्थापना भएको बताएकी छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले हलिया, मुक्त कमैया, थारु, मुस्लिम मधेसी, दलित समुदायको उत्थानका लागि पार्टीको एजेण्डा भएको बताइन् ।
उनले थारु समुदायले पहिचानसहितको अधिकार माग्दा राज्यसत्तामा रहेकाहरुले देशद्रोहीको आरोप लगाउँदै जेल हाल्ने गरेको बताइन् । उनले टीकापुर घटनालाई अतिरञ्जित बनाएर सरकारले थारुहरुलाई अनाहकमा दुख दिइरहेको बताइन् । ‘प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र आयो, तर त्यो जनताका लागि नभई मात्र नेता र उनीहरुका परिवारका लागि आयो,’ उनले भनिन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जनतालाई झुक्याएर मोजमस्ती गर्नेहरुले टीकापुर घटनाको नाममा रेशम चौधरी लगायत सोझासाझा थारुहरुलाई सजाय दिएको बताए । उनले थारुले मात्र थारुको पिरमर्का बुझ्ने भएकोले थारु अधिकारका लागि एकजुट भएर उभिन आह्वान गरे ।


थरुहटका लागि आन्दोलन गरेका पूर्णबहादुर थारुले थारुहरुको अधिकारका लागि लड्ने रेशम चौधरीलाई जेलमा हालेर बर्र्षाैँदेखिको राज जोगाउने प्रपञ्च ठूला राजनीतिक दलका नेताहरुले गरिरहेको बताए । उनले थारुहरुले थारुलाई धोका दिँदै आएको बताउँदै आफ्नो अधिकारका लागि सानोतिनो विवादमा नअल्झिन सुझाव दिए ।
काँग्रेस नेतृ सोमती चौधरीले थारुहरुले पहिचानसहितको थरुहट प्रदेश माग्दा राज्यले थारुलाई गैर नागरिकको रुपमा ब्यवहार गर्दै जेलमा हालेको बताइन् । उनले अव थारुहरु एकजुट हुनुको विकल्प नभएको बताउँदै अधिकार मागेर नदिए खोसेर लिनुपर्ने धारणा राखिन् । ‘पहिले हामीलाई पहिचानसहितको थरुहट प्रदेश दिने भनियो, तर त्यो राज्यसत्तामा बसेकाहरुले हामीलाई ललिपप देखाएका रहेछन्,’ उनले भनिन्, ‘अव पनि थारुहरु सजग नभए अझ धेरै शोषणमा पर्ने निश्चित छ ।’
नागरिक उन्मुक्ति पार्टी बाँके अध्यक्ष सुरेशकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका ६ र ७ का दुई सय ५० जना प्रवेश गरेको सचिव ओमराज चौधरीले दावी गरे ।

Previous articleराज्यबाट उपेक्षित बाल मन्दिर : गरिव र असहाय बालबालिकाको शिक्षा लिने थलो
Next articleएकीकृत समाजवादी बाँकेले टुंग्यायो प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको नाम (को–को भए सिफारिस ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here