बाँके, ९ भाद्र, २०७९ ।
नेपालगन्जको मुटुमा छ बाल मन्दिर । भेरी अस्पताल, मालपोत, नापी, जल तथा भूमिगत सिँचाई, बाँके जिल्ला अदालत, उच्च अदालत सरकारी वकिलको कार्यालय, भौतिक पूर्वाधार कार्यालय, नेपाल परिवार नियोजन संघ, नेपाल रेड्क्रस सोसाइटी लगायत कार्यालयको काखमा छ बाल मन्दिर । तर, उक्त बाल मन्दिरमा सरकारको ध्यान पुग्न सकेको छैन । जसका कारण बाल मन्दिरको शैक्षिक गुणस्तर खस्किएको छ । बाल मन्दिरले राम्रो शिक्षा दिन नसक्दा अभिभाव तथा विद्यार्थीको रोजाईमा पर्न सकेको छैन बाल मन्दिर ।
विक्रम सम्वत् २०२३ सालमा स्थापना भएको विद्यालयलाई विद्यार्थी पाउन मुस्किल छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधार नहुँदा छेवैका बालबालिका पनि अन्यत्रको विद्यालयमा जाने गरेको प्रधानाध्यापक प्रतिभा खड्काले बताइन् । गरिव, असहाय र मजदुरका बालबालिकामात्र अध्ययनका लागि आउने गरेको उनको भनाई छ ।

बाल मन्दिरमा मधेसी र मुस्लिम समुदायका बालबालिकामात्र अध्ययनका लागि आउने गरेको विद्यालयले जनाएको छ । ‘बाल मन्दिर गरिव, असहाय र मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका बालबालिकाको मात्र रोजाईमा परेको छ,’ उनले भनिन् ।
बाल मन्दिरमा एक सय ५० जना विद्यार्थी भर्ना छन् । तर, ति विद्यार्थी पनि नियमित रुपमा विद्यालय आउँदैनन् । ‘सवैभन्दा धेरै १०९ जना विद्यार्थी उपस्थित भएको रेकर्ड छ,’ प्रधानाध्यापक खड्काले भनिन्, ‘विद्यार्थीलाई घर–घरमा गएर खोजेर ल्याउनु पर्छ । के–के बहाना लगाएर धेरै दिन गायव भइदिन्छन् । खोजेर हैरान भइन्छ ।’
नेपाल बाल संगठनले संचालनमा ल्याएको उक्त विद्यालयले सरकारबाट शिक्षक बाहेक केहि पाएको छैन । बालविकास सहजकर्ता सहित ५ जना शिक्षक–शिक्षिकाले कक्षा ५ सम्म पढाउँदै आएको संगठनका सभापति समेत रहेका विद्यालयका अध्यक्ष दत्तप्रसाद आचार्यले बताए । उनले राज्यको बेवास्ताका कारण बाल मन्दिरको विकास हुन नसकेको जिकिर गरे । ‘विद्यालय खडा गरेर मात्र भएन । विद्यालयलाई आवश्यक पर्ने शिक्षक लगायत अन्य आवश्यक सामग्री पनि दिनु पर्यो,’ उनले भने ।

नेपालगन्ज उपमहानगरभित्र रहेका अन्य सामुदायिक विद्यालयलाई उपमहानगरले हेर्दै आएको छ, तर उक्त बाल मन्दिर केन्द्रिय सरकारको मातहतमा भएकोले उपमहानगरले हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको मेयर प्रशान्त विष्टले बताए ।
उनले उपमहानगर भित्र रहे पनि संघीय सरकार मातहतको विद्यालय भएकोले आर्थिक लगानी र अनुगमन तथा निरीक्षण गर्न सक्ने नसकेको बताए । ‘यो विद्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दैन । त्यसैले उक्त विद्यालयलाई सुधार गर्न लगानी र हस्तक्षेप गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
बाल मन्दिर रहेको ठाउँमा बाल संगठनको भवन पनि छ । उक्त भवनमा सभा हल, कार्यालय र कर्मचारी बस्ने कोठा पनि छन् । संगठनको हलमा नेपालगन्ज उपमहानगरपालिकाले आइसोलेशन संचालन गर्दै आएको छ । ‘कोरोना संक्रमितलाई ल्याउन सुरु भएपछि बाल मन्दिरको पठन पाठन बन्द गर्नुपर्ने हुन्छ,’ प्रधानाध्यापक खड्काले भनिन् ।