राजस्व अनुसन्धानका कर्मचारीमाथि छानविन गर्न उद्योगी, ब्यवायीको माग

बाँके, २ भाद्र, २०७९ ।


बाँकेका विभिन्न पेशा तथा ब्यवसायीसँग आवद्ध संघ–संगठनले राजस्व अनुसन्धान कार्यालयका कर्मचारीका बिषयमा उठाइएको गम्भिर बिषयको निराकरणका लागि स्वतन्त्र र निष्पक्ष छानविन गर्न सरकारसंग माग गरेका छन् । राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले ब्यापारीलाई अनाहकमा दुख दिने, रकम माग गर्ने जस्ता गलत क्रियाकलाप गरेको गुनासो बाहिर आएपछि बाँकेका उद्योगी, ब्यवसायीले निष्पक्ष छानविनको माग गरेका हुन् ।
नेपालगन्जको घरबारी टोलस्थित मष्टा लक्ष्मी टे«ड लिङ्कमा राजस्व अनुसन्धान कार्यालय, कोहलपुरले २९ साउनमा छापा मार्ने क्रममा बिबाद उत्पन्न भएको थियो । सोही क्रममा संचालक टंकबहादुर धामीले राजस्वका कर्मचारीमाथि हातपात गरेको आरोपमा बाँके प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता समेत रहेका धामी लगायतका व्यवसायी बिरुद्ध दायर गरिएको मुद्दा गम्भीर ध्यानाकर्षण भएको यहाँका उद्योगी, ब्यवसायीले जनाएका छन् ।
मुद्दा फिर्ता र पक्राउ परेका धामीको रिहाईको माग गर्दै उद्योगी, ब्यवसायीसँग सम्बन्धित २७ वटा संगठनले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ‘प्रवक्ता धामीको यथाश्रिघ रिहाई, राजस्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी माथि छानबिनका लागि तटस्थ समिति गठन गरि स्वतन्त्र र भयरहित वातावरणमा व्यापार, व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता नगरे संघ चरणवद्ध अन्दोलनमा जान बाध्य हुने व्यवहोरा जानकारी गराउँदछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
राजस्व अनुसन्धान कार्यालय जस्ता सरकारका नियामक निकायसंग उत्पन्न बिवादका कारण व्यवसायीक क्षेत्रमा त्रास र चिन्ताको वातावरण सिर्जना भएको छ । विगतमा भएका कयौँ विवादलाई आपसी छलफल र सहकार्यको माध्यमबाट समाधान गरिएको भए पनि यसरी उद्योगी, व्यवसायी बिरुद्ध मुद्दा दर्ता गरी पक्राउ गर्ने कार्य आश्चर्यजनक र दुःखद भएको ति संगठनले बताएका छन् । ‘अवैधरुपमा हुने व्यापारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले कहिल्यै समर्थन गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सीमापारीबाट हुने अवैध आयात रोक्न संघले नै तत्परता लिएको स्पष्ट पार्दै विभिन्न संघसंगठनले अवैध आयात नियन्त्रण नहुँदा त्यसको मार यहाँका उद्योगी, व्यवसायीले खेप्दै आएको जनाएका छन् । ‘अवैध व्यापार रोक्न राज्यका निकायसंग हातेमालो गरिरहेको संघ र यहाँ आवद्ध उद्योगी,व्यवसायीले नियामक निकायको काम र त्यहाँ कार्यरत कर्मचारीप्रति कुनै प्रकारको वैरभाव र प्रतिशोध साध्ने भन्ने सवाल नै आउँदैन । उहाँहरुको काम र कर्तव्यप्रति सदैव सम्मान प्रकट गर्दछौं,’ अगाडी भनिएको छ ।

Previous articleमिसेज नेपालगन्जको अडिसन भोलीदेखि हुने
Next articleथारु समुदायमा श्रीकृष्ण जन्माष्टमीको महत्व : श्रृष्टिकर्ताको रुपमा पूजा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here