भाद्र दोस्रो सातादेखि नयाँ डायलाइसिस मेसिनबाट सेवा दिने भेरी अस्पतालको तयारी

भेरी अस्पतालमा जडानका लागि ल्याइएको डायलाइसिस मेसिन । तस्विर : गोचाली खवर

बाँके, २ भाद्र, २०७९ ।
१२ साउनमा आइपुगेको ६ वटा डायलाइसिस मेसिन भाद्र दोस्रो सातादेखि संचालनमा ल्याउने तयारी भेरी अस्पतालले गरेको छ । मेसिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो गरेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेसिन पठाएको छ ।
मेसिन आएको जानकारी पाएर खुसी भएका मिर्गौला पीडित अस्पतालले जडानमा ढिलाई गरेपछि निराश बनेका छन् । अस्पतालका कारण पालो कुरेर बसेका मिर्गौला पीडितलाई थप एक हप्ता पर्खिनु पर्ने भएको छ ।
डायलाइसिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्टका लागि घर निर्माण गर्न समय लागेकोले डायलाइसिस मेसिन जडानमा ढिलाई भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए ।
उनले आरओ प्लान्टका लागि घर निर्माण अन्तिम चरणमा भएको बताउँदै प्लान्ट जडानको काम सकिने वित्तिकै डायलाइसिस मेसिन जडानका लागि प्राविधिक बोलाउने बताए । ‘भाद्र दोस्रो सातादेखि मन्त्रालयले पठाएका नयाँ मेसिनबाट डायलाइसिसको काम सुरु गर्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने ।
उनले डायलाइसिस मेसिनसँगै आरओ प्लान्ट नआउने भएकोले ढिलाई भएको जिकिर गरे । नयाँ मेसिन पुरानो आइसियू कक्षमा राख्ने तयारी गरिएको बताउँदै डा. चापागाईले अहिलेलाई नयाँ ६ वटा मध्ये पाँच वटा मात्र संचालनमा ल्याउने स्पष्ट पारे । नयाँ मेसिन जडान भए दैनिक १५ जनाले डायलाइसिस सेवा पाउने छन् ।
भेरी अस्पतालसँग अहिले ६ वटा पुराना मेसिन छन् । ति मध्ये दुई वटा विग्रिएको छ । एउटा इमरजेन्सीका लागि राखिएको छ । तीन वटा मेसिनले दैनिक तीन सिफ्टमा ९ जनाले डायलाइसिस सेवा लिँदै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईको भनाई छ । उनले पुराना ४ वटा मेसिन इमरजेन्सी, एचआइभी संक्रमित, हेपाटाइटिस वी र अन्य संक्रामक रोग लागेका विरामीका लागि राखिने बताए ।
भेरी अस्पतालबाट अहिले ३० जना विरामीले डायलासिस सेवा लिइरहेका छन् । डा. चापागाईका अनुसार ४५ जना मिर्गौला पीडित डायलाइसिसको पर्खाईमा छन् । ‘नयाँ मेसिन जडान भए दैनिक थप ६ जना विरामीले डायलाइसिस सेवा पाउने छन्,’ उनले भने ।

Previous article१६ बर्षिय किशोर सामुदायिक वनमा मृत फेला, पुनर्स्थापना केन्द्रमा एकको मृत्यु
Next articleमिसेज नेपालगन्जको अडिसन भोलीदेखि हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here