१६ बर्षिय किशोर सामुदायिक वनमा मृत फेला, पुनर्स्थापना केन्द्रमा एकको मृत्यु

बाँके, १ भाद्र, २०७९ ।


कोहलपुरस्थित सामुदायिक वनमा एक जना किशोर मृत फेला परेका छन् । कोहलपुर नगरपालिका ७ स्थित आरती सामुदायिक वनभित्र जानकी गाउँपालिका ६ का १६ वर्षिया शिव लोनिया मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
१ भाद्र विहान करिब १० बजेतिर बालक मृत अवस्थामा फेला परेको जानकारी पाउने वित्तिकै पुगेको प्रहरी टोलीले शव पहिचान लगत्तै अनुसन्धान थालेको छ । घटनालाई गम्भिर रुपमा लिएको मल्लले बताए । उनले एक ठाँउमा हत्या गरि अर्को स्थानमा शव फालेको अवस्थामा भेटिएको बताए । हत्या आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
दाउरा लिन वनमा गएको बेला रुखको हांगाले लागेर भतिजाको मृत्यु भएको सँगै जंगल गएका काकाले बयान दिए पनि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको मल्लले बताए ।
साथमा जंगल गएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । ‘रुखको हांगा लागेर मृत्यु भएको हो की हत्या गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । थप कुरा अनुसन्धानबाट खुल्ने छ,’ उनले भने ।
यसैवीच, उपचारका लागि नेपालगन्ज उपमहानगरपालिका ९, शान्तिनगरस्थित आरम्भ पुनर्स्थापना केन्द्रमा भर्ना भएका लागूऔषध प्रयोगकर्ताको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । सुधार केन्द्रमा रहेका उनको स्वास्थ्यमा खरावी देखिएपछि भेरी अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको उनले बताए ।
उनी एक हप्ता अघि मात्र पुनस्र्थापना केन्द्रमा भर्ना भएका थिए । अधिकारीको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको भेरी अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Previous articleबाँकेमा बुधवार १४ जनामा कोरोना पुष्टि
Next articleभाद्र दोस्रो सातादेखि नयाँ डायलाइसिस मेसिनबाट सेवा दिने भेरी अस्पतालको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here